
सवारी ज्यान र सवारी अंगभंग मुद्दाका फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहूँले सवारी ज्यान र सवारी अंगभंग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ भण्डारा बस्ने ३८ बर्षीय बिजय धिताल भन्ने भरिपूर्ण धिताल रहेको प्रहरीले जनाएको छ ।
गत साउन महिनाको ८ गते उनले चलाएको बा ४ ख ५१७९ नम्वरको माइक्रो र विपरित दिशाबाट आएको बा २ ख ४०२० नम्वरको माइक्रो आँबुखैरेनी मुग्लिन खण्डमा एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।
दुर्घटना भए लगतै फरार रहेका धिताल बिरुद्ध सवारी ज्यान र सवारी अंगभंग मुद्दा दर्ता भएको थियो । बुधवार उनलाई काठमाण्डौको मनमैजुबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक शिव थापाले बताए । उनका अनुसार धिताललाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत तनहूँ पठाइएको छ ।




