| बिहिबार, अशोज १४, २०८३

लाप्राकमा आयोजित जिल्लास्तरीय भलिबलको उपाधि सातकन्या युवाक्लव लापुलाई

धार्चे गाउँपालिका वडा नं ४ मा सम्पन्न भएको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि सातकन्या युवाक्लव लापुले जितेको छ । तमु ल्होसार मूल आयोजक समितिद्वारा आयोजित जिल्लास्तरीय पुरुष भलिबलको उपाधि वडा नं ७ लापुको सातकन्या युवाक्लवले जितेको हो ।

उपाधि विजेता क्लवले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको मेला आयोजक समितिका कार्यक्रम संयोजक सन्तबहादुर गुरुङले बताए । प्रतियोगितामा अजिरकोट गाउँपालिका ४ को गोगनपानी युवाक्लव दोस्रो भएका छन् । त्यस्तै, बारपाक सुलिकोट गाउँपालिका रन्चोक तेस्रो भएको उनले जानकारी दिए । दोस्रो र तेस्रो भएका टिमलाई क्रमश नगद रु ३५ हजार, २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको उनले बताए ।

मेलामा छेलो फाल्ने प्रतियोगिता पनि भएको थियो । सो प्रतियोगितामा वीर गुरुङ प्रथम, धनबहादुर गुरुङ दोस्रो र सुदीप गुरुङ तेस्रो भएका थिए । उनीहरुलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै, बाँसमा चढाइ प्रतियोगिता भने उज्वल गुरुङले जितेका छन् । उनलाई पुरस्कार स्वरुप लोकल भाले प्रदान गरेको कार्यक्रम संयोजक गुरुङले बताए । त्यस्तै, हाँडी फुटाई प्रतियोगिता भने जीवन गुरुङले जितेका छन् । उनलाई लोकल भाले प्रदान गरिएको थियो । मेलाका अवसरमा भएको रनिङ नाँच प्रतियोगितामा सुगम गुरुङ प्रथम, विपिन गुरुङ दोस्रो र रोशनी गुरुङ तेस्रो भएका थिए । उनीहरुलाई पनि पुरस्कृत गरिएको मेला आयोजक समितिले जनाएको छ ।

मेलाकै अवसरमा भएको साँस्कृतिक कार्यक्रममा समरिता गुरुङ पहिलो, करुणा गुरुङ दोस्रो र सनिशा गुरुङ तेस्रो भएका छन् । उनीहरुलाई नगद रु तीनहजार, दुईहजार र एकहजार नगदसहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको उनले जानकारी दिए । यहि पौष १५ गतेबाट सुरु भएको मेला १८ गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्