
गोरखामा च्याम्बर अफ कमर्शको ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्धन मेला’ सुरु
गोरखा सदरमुकाममा बिहिबारदेखि ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्धन मेला–२०८०’ सुरु भएको छ । गोरखा चेम्वर अफ कमर्सको आयोजनामा सुरु भएको मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लामा बाहिरको पुँजी कति भित्रिन्छ र कति पुँजी बाहिर जान्छ भन्ने बारेमा गहिरिएर अध्ययन गर्नु पर्ने मुख्यमन्त्री पाण्डेले बताए । मेलामा स्थानीय उत्पादनको बजारिकरण पहिलो प्राथमिकतामा हुनुपर्नेमा उनले जोड दिए । गाउँको उत्पादन र बजार बीच समन्वय गरी सुदृढिकरण गरेमा मात्र मेला सफल हुने उनले बताए । ‘आफ्नो पुँजी बाहिर नजाने र बाहिरको पुजी यहाँ ल्याउन सक्ने, गाउँको उत्पादन र बजार बीच समन्वय गरी त्यसलाई सुदृढिकरण गर्ने हो भनी मात्रै यो मेलाको जुन उद्देश्यका साथ आयोजना गरिएको हो त्यसले पूर्ण सफलता पाउँछ’, उनले भने ।
गोरखाका सम्भावनालाई दीर्घकालसम्म उपयोगमा ल्याउन, परिचालन गर्नका लागि व्यापारिक संगठनहरु चलायमान बनी सरकारलाई घच्घच्याउनु पर्ने उनले बताए । ‘गोरखामा धेरै सम्भावना छ, पर्यटन, धार्मिक पर्यटकीय स्थल, धार्मिक पर्यटकको प्रचुर सम्भावना, जडीबुटीको सम्भावना, हाइड्रोको सम्भावना, कृषिको सम्भावना, फलफूलको सम्भावना, दुग्धजन्य तथा पशुपालनको सम्भावना छ’, उनले भने, ‘ती सम्भावना नै सम्भावनाको बीचमा कसरी दीर्घकालीन गर्ने र दीर्घकालसम्म यस्ता सम्भावनालाई कसरी उपयोगमा ल्याउने र परिचालनमा ल्याउन व्यापारिक संगठहरु चलायमान बनी सरकारलाई घच्घचाउनु पर्ने हुन्छ ।’ सरकारका नियम कानुन र कार्य व्यवस्थाले व्यापार÷व्यवसायमा केही अप्ठ्यारो परेको खण्डमा प्रदेश सरकारले सो कानुन नै बदलिदिने उनले दाबी गरे ।

‘म आज यहीँ मञ्चबाट भन्छु कि, जे उत्पादन गर्नु हुन्छ गर्नुस्, बजार पाउनु भएन भने तपाईले गरेको उत्पादन गण्डकी सरकारले खरिद गरिदिन तयार छ’, उनले भने, ‘प्रदेशले बनाएको कानुनले व्यापार व्यवसायमा अप्ठ्यारो परेको खण्डमा सो कानुन नै बदलदिने छु ।’ गण्डकी सरकारले चिप्स आलु उत्पादनको लागि गोरखामा अनुदान दिने पनि उनले जानकारी गराए । अहिले मुलुकमा बैंकहरुको दादागिरी चलिरहेको उनले बताए । ‘यो मुलुकमा अहिले बैंकहरुको दादागिरी चलेको छ, राज्यको यसमा प्रत्यक्ष हस्ताक्षेपको जरुरत छ । होइन भने हाम्रो अर्थतन्त्र चलायमान बनाउन सक्दैन ।
प्रदेश आफैमा आत्मनिर्भर बन्नु पर्नेमा उनले जोड दिए । ‘गण्डकी प्रदेश आफैमा आत्म निर्भर बन्नु पर्छ’, उनले भने, ‘यसको लागि सके निर्यात गर्ने नसके आयात नगर्ने गण्डकी प्रदेशमा किनेर नखाने ।’ राज्यले गरेको लगानीको प्रतिफल गाउँमा नै उपभोग होस् भन्ने चाहना रहेको उनले बताए । उनले यसअघि भनेका कुरालाई स्मरण गर्दै भने, ‘त्यसैले भनेकोे हुँ कि, मेरो पालामा गाँजा र लोकल रक्सीको उत्पादनलाई वैध गराउछु । यसको चर्चा पनि चल्यो । गाँजा एउटा लागु पदार्थ मात्र होइन, विश्वव्यापी मान्यता छ अनुसन्धानले पुष्टि गरिसक्यो कि गाँजा औषधीजन्य पदार्थ पनि हो । औषधीमा त्यो प्रयोग हुन्छ, यसको बोट र जराबाट आउने कच्चा पदार्थ उद्योगमा प्रयोग हुन्छ ।’ उद्योगजन्य कच्चा पदार्थ र औषधीजन्यको प्रयोग लागि वैध गराउने उनको भनाई छ । यसको दुव्र्यसनीको हुन्छ कि भन्नेमा उनले चिन्ता व्यक्ता गरे । ‘मलाई एउटा मात्रै चिन्ता छ, कसरी यस्को दुरुपयोगलाई रोक्ने, भोलि यस्को दुरुपयोगले दुव्र्यसनीको हातमा पुग्यो भनी, त्यो एउटा भयवह स्थिति आउन सक्छ’, उनले भने । यसलाई मेकानिजमबाट कन्ट्रोल गर्न सकिने पनि बताए ।
‘प्रशासनिक संयन्त्र, सुरक्षा संयन्त्रबाट दुव्र्यसनी र अवैध धन्दालाई कन्ट्रोल गर्न सकिन्छ कि सकिदैंन भन्ने चिन्ता छ’, उनले भने । यसको सही सदुपयोगका लागि लागु पदार्थजन्य नभई औषधीजन्य पदार्थको रुपमा उपयोग गर्नका लागि कसरी अगाडि बढ्ने भन्ने बारेमा कानुन निमार्ण गर्न लागिएको उनले जानकारी गराए । अब आउने अधिवेशनमा वैध रुपमा लैजानका लागि कानुन संसदमा प्रवेश गराउन लागेको कुरा पनि उनले खुलासा गरे । ग्रामीण भेगका स्थानीयको रोजीरोटीको आधार बन्ने लोकल रक्सीलाई अवैध हुन नदिने र गुणस्तर वृद्धि गर्ने गरी वैधानिकता दिनका लागि कानुन बनाउन लागिएको उनले बताए । ‘गण्डकी प्रदेश जनजातिको बहुल्यता भएको प्रदेश पनि हो’, उनले भने, ‘त्यहीँ भएर यसको ब्रान्डिङ गरी वैधानिकता दिन लागिएको हो ।’ ठूला उद्योगलाई भने यसको लागि अनुमति नदिने तर स्थानीयलाई प्रोत्साहन गर्ने उनले बताए ।
उनले बाहिर कमाएको पुँजी आफ्नो ठाउँमा ल्याएर लगानी गर्न व्यवसायीलाई आग्रह गरे । चेम्वर अफ कमर्स गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्ल, कांग्रेसका गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, सांसद फणिन्द्र देवकोटा, एमाले गोरखा अध्यक्ष काजीराम रोका, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
हरमटारी खेलमैदानमा सुरु भएको मेलामा करिव एकसय ३० वटा स्टल रहेको आयोजकले जनाएको छ ।
कृषि तथा हस्तकलाका सामग्रीहरुलाई बिशेष प्राथमिकता दिइएको छ । मेलामा करिव ६ करोडभन्दा बढीको कारोवार हुने अनुमान गरिएको छ । ५० हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ । मेला गर्न करिव ७३ लाख लाग्ने बताइएको छ । मेला स्थल प्रवेशका लागि आयोजकले एकसय टिकट शुल्क तोकेको छ । अपाङ्गता भएका र जेष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट दिइएको छ ।




