
गोरखामा पनि विद्युतीय गाडी चार्जिङ स्टेशन !
विद्युतीय गाडीको लोकप्रियता बढेसंगै गोरखामा पनि विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । सदरमुकाममा रहेको होटल इन गोरखाले टाटा कम्पनीको एउटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेशन गत कात्तिक महिनादेखि सञ्चालनमा आएको होटलका सञ्चालक एवं होटल व्यवसायी संघ गोरखाका अध्यक्ष निधि तिमिल्सिनाले जानकारी दिए ।
सो स्टेशन साढेँ २ लाखको लागतमा निर्माण भएको उनले बताए । ‘चार्जिङ स्टेशन निर्माण गर्न साढेँ २ लाख जति लाग्छ, तर मैलेचाँहि १० हजार फिटिङ चार्ज मात्रै तिरेर जडान गरेको हो’, उनले भने, ‘मैले यो दमौलीमा रहेको टाटा कम्पनीबाट ल्याएर जडान गरेको हो त्यहीँ भएर मार्केट बढ्छ कि भनेर मलाई सुविधा जस्तो गरेर दिएको हो । बाँकी लगानी कम्पनी आफैंले भुक्तानी गरिदियो ।’ चार्जिङ स्टेशनमा एकपटकमा एउटा मात्रै गाडी चार्ज गर्न सकिनेछ ।
चार्जिङ स्टेशन जडान गरेपछि होटलमा ग्राहकको संख्या केही मात्रमा भए पनि वृद्धि भएको उनले बताए । ‘ग्राहकको संख्या उल्लेखनीय रुपमा त बढेको छैन, अलि अलि भनेनि बढेको चाँहि छ’, उनले भने, ‘मान्छेहरुले अनलाइनमा हेर्छन्, गोरखामा एउटा मात्रै चार्जिङ स्टेशन भएकाले विद्युतीय सवारीहरु जिल्ला आउँदा यहीँ आउँछन् ।’ उनका अनुसार सरदरमा दैनिक रुपमा २÷३ वटा सवारी चार्जिङको लागि आउने गरेको छ । जिल्ला भित्रिने कुनै पनि विद्युतीय सवारी चार्जिङ स्टेशन नभएर फर्किन पर्ने अवस्था नरहेकोे उनले बताए । ‘चार्जिङ स्टेशन सञ्चालनमा आएपछि विद्युतीय गाडी लिएर होटलमा आउने ग्रहाकहरुलाई पनि धेरै नै सहजता भएको महसुस भाको छ’, उनले भने, ‘मेरो होटलमा मात्र होइन, गोरखा आउने इभी गाडीहरुलाई हाम्रो चार्जिङ स्टेशनले सहयोग पुगिरा’को छ । अब जिल्ला आउने गाडीलाई चार्जिङ स्टेशनको समस्या पर्दैन ।’
एक पटक चार्ज भएपछि गाडीको क्षामता हेरेर दुईसयदेखि तीनसय किलोमिटरसम्म गुड्ने उनको भनाई छ ।
‘एउटा गाडी चार्ज हुन ४ घण्टा लाग्छ । एक पटक फुल चार्ज भयो भनी गोरखा—काठमाडौं ओहोर दाहोर गर्न सकिन्छ’, उनले भने, ‘हामीले अहिलेसम्म गाडी चार्ज गरे बापत अधिकतम ३७५ रुपैयाँ लिएका छौं । पेट्रोलको कुरा गर्नी हो भनी गोरखा—काठमाडौं ओहोर दाहोर गर्न ४ देखी ५ हजारसम्म लाग्छ ।’ चार्ज शुल्क प्रतियुनिट १५ रुपैयाँ तोकिएको तिमिल्सिनाले जानकारी दिए । चार्ज गर्दा खपत भएको युनिट बापतको महशुल लिने गरेको उनले बताए । चार्जिङ स्टेशनमा विद्युत् आपूर्तिका लागि ३२ केभीएको ट्रान्सफर्मर, सवाँ मिटर पनि जडान गरिएकोे छ । होलटमा बास बस्ने ग्राहकले पाँचहजार भन्दा बढीको बिल तिरेको खण्डमा गाडी चार्जिङको शुल्क निःशुल्क हुने होटल सञ्चालक तिमिल्सिनाले बताए ।
त्यस्तै गोरखा सदरमुुकाममा नै रहेको अर्को होटल बिसौनीमा भने चार्जिङ स्टेशन निर्माण नगरी थ्रीफेजको लाइनबाट विद्युतीय गाडी चार्ज गर्ने गरिएको छ । बिगत ४४ वर्षदेखि सञ्चालनमा रहेको गोरखाकै जेठो होटल बिसौनीले विद्युत प्राधिकरणसँग सम्झौता गरेर थ्रीफेज लाइन जडान गरिएको होटलका सञ्चालक धिरजबहादुर मास्केले बताए । यहाँ भने हप्ता, महिना दिनमा मात्रै गाडी चार्जिङको लागि आउने गरेको उनले बताए ।
‘यहाँ पनि गाडी चार्ज हुन्छ भनेर प्रचार प्रसारको कमीले होकि, विद्युतीय गाडी नै नचलेको भएर हो हप्ता दिन महिना दिनमा मात्र गाडीहरु चार्जिङको लागि लागि आउने गर्छन्’, उनले भने । यसबाट ठूला बससहित विद्युतीय सवारीसाधन पनि चार्ज गर्न सकिनेछ । देशभरका विभिन्न ठाउँमा आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेशन निर्माण गरिएको छ ।




