
काम अलपत्र पार्ने लक्ष्मी कन्स्ट्रक्शनसँग शहिद लखन गाउँपालिकाद्वारा स्पष्टिकरण माग
काम अलपत्र पारेर सम्पर्क भएका ठेकेदारलाई शहिद लखन गाउँपालिकाले स्पष्टिकरण माग गरेको छ । लक्ष्मी कन्स्ट्रक्शनका प्रोपाइटर राजकुमार श्रेष्ठलाई कालोसूचीमा राख्ने प्रकियाअन्तर्गत स्पष्टिकरण सोधिएको गाउँपालिकाले जनाएको छ ।
कन्स्ट्रक्शनले सो गाउँपालिकाको वडा नं. १ को कार्यालय भवन निर्माणको जिम्मा लिएको थियो । दोस्रो पटक थपिएको म्याद गुज्रेको छ महिना भइसक्दा पनि काम सम्पन्न गर्नुको साँटो सम्पर्क बिहिन भएपछि लक्ष्मी कन्ट्रक्शनका प्रोपाइटर राजकुमार श्रेष्ठलाई स्पष्टिकरण माग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए ।
गत पुस ६ गते बसेको गाउँकार्यापालिको बैठकले निर्णय गरी स्पष्टिकरण सोधिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । ‘तपाईंलाई किन कारवाही गरी कालो सूचीमा नराख्ने ? भनी ठेकेदार श्रेष्ठसँग स्पष्टिकरण माग गरिएको छ’, उनले भने, ‘गाउँपालिकाले सात दिनभित्र कार्यालयमा स्वयं उपस्थित भई स्पष्टिकरण दिनुपर्ने भनेर पुस ११ गते पत्राचार गरिएको थियो । तर उहाँ उपस्थित हुनु भएन ।’ गाउँपालिकाले काम सम्पन्न गर्न पटक पटक मौखिक तथा लिखित रुपमा ताकेता गर्दा पनि बेवास्ता गरी निर्माण कार्य सम्पन्न गर्न कुनै तदारुकता नदेखाएकाले स्पष्टिकरण सोधिएको उनले बताए ।
‘सोधिए अनुसारको स्पष्टिकरण र निमार्ण कार्य पुनः सुरु गरी कार्यसम्पन्न गर्ने संशोधित कार्यतालिका एवं सम्झौता बमोजिमका आवश्यक कागजातहरु समेत पेश गर्नुहुन, अन्यथा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम कालो सूचीमा राख्न सिफरिस प्रक्रिया अगाडि बढाउने व्यहोरा जानकारी गराइन्छ’, सो पत्रमा भनिएको छ ।
दुईपटक म्याद थप गर्दा भवन निर्माणको काम जम्मा करिब ६५ प्रतिशत मात्र सम्पन्न भएको गाउँपालिका इन्जिनियर मेघनाथ यादवले जानकारी दिए । सो भवन निर्माणका लागि लक्ष्मी कन्स्ट्रक्शनका प्रोपाइटर श्रेष्ठले २०७९÷०१÷०७ गते भवन निमार्णको लागि २५ लाख ८० हजारमा सम्झौता गरेका थिए । योजनाको लागत ३५ लाख रहेको छ । उनका अनुसार हालसम्म १३ लाख भुक्तानी समेत भई सकेको छ । गत असार ३० गते काम सम्पन्न गर्ने गरी अन्तिम पटक म्याद थप गरिएको थियो । त्यसपछि ठेकेदार काम छोडेर सम्पर्कबिहिन बनेको उनले बताए ।
‘दोस्रो चोटी थप गरिएको म्याद असारमा सकियो, त्यसपछि ठेकेदार सम्पर्कमा नै छैनन्’, उनले भने, ‘चार चोटी पाँच चोटी पत्रचार पनि गरियो, फोन पनि रिसिभ नहुने । अहिले सम्पर्कमा आएर एक हप्ताको समय दिनुस् काम सुरु गर्छु भन्नु भएकोे छ, तर ढिलाई भएकाले हामी सरकारी प्रकियामा जान बाध्य भइयो ।’ दुई वटा ब्लकमा निर्माणधीन रहेको भवनको झ्याल, ढोका, खापा, रङ रोगन र प्लास्टरको काम बाँकी रहेको उनले जानकारी दिए । ‘दुईवटा ब्लकमा भवन निर्माण हुदैंछ, एउटा ग्राउण्मा सभाहल र अर्को पूरानो भवनमाथि अर्के तल्ला थप्ने गरी ठेक्का सम्झौता भएको हो’, उनले भने ।
ठेकेदार श्रेष्ठलाई स्वायम उपस्थित भएर स्पष्टिकरण दिन पर्ने भनिएकोमा इमेल मार्फत जवाफ पठाएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । श्रेष्ठले पठाएको जवाफ पनि चित्त बुझदो नभएकोले कालो सूचीमा राख्ने तयारी गरिएको उनले बताए । ‘हामीले स्वयं उपस्थित हुन भनेका थियौं, उनले मेलमार्फत जवाफ पठाउनु भाको रहेछ’, उनले भने, ‘जवाफ चित्त बुझदो छैन, त्यही भएर छिटै आर्के कार्यापालिकाको बैठकमा उनलाई कालो सूचीमा राख्नका लागि सिफारिस गर्छौँ ।’
यस विषयमा थप जानकारी लिन यस पत्रिकाले ठेकेदार श्रेष्ठलाई फोन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।




