| बुधबार, कार्तिक २५, २०८३

गठबन्धनको ‘स्पिरिट’ गाउँतहसम्म पुग्न नसकेको माओवादी गोरखाको निश्कर्ष


गठबन्धनको मर्म र भावना केन्द्र तहमाझैँ जिल्ला र स्थानीय तहमा पुग्न नसकेको माओवादी गोरखाको निश्कर्ष छ । बुधबार सदरमुकाममा आयोजित जनतासंग माओवादी रुपान्तरण विशेष अभियानको समीक्षा बैठकमा बोल्ने बक्ताहरुले ‘गठबन्धनको स्पिरिट’ केन्द्रमा झै जिल्ला र गाउँतहमा नपुगेको निश्कर्ष निकालेका माओवादीका जिल्ला समन्वय समितिका संयोजक दीपक तिमिल्सिनाले जानकारी दिए ।


‘गठबन्धनका मुख्य दल माओवादी र कांग्रेसका बीचमा केन्द्रमा जुन स्पिरिटमा मेल छ, जिल्ला र स्थानीय तहमा अल्लि ‘कन्फ्युज’ रहेको पाइयो, त्यसैले केन्द्रको ‘स्पिरिट’ गाउँतहसम्म पु¥याउनु पर्ने देखियो भनेर धेरै साथीहरुले भन्नु भयो’, जिल्ला संयोजक तिमिल्सिनाले भने, ‘केन्द्रमा गठबन्धन राम्ररी अघि बढिरहेको छ । गोरखामा मुख्य दुई पार्टी बीचको गठबन्धन सुदृढ गर्नुपर्ने देखिएको निश्कर्ष निकालिएको छ ।’


त्यस्तै समीक्षा बैठकमा पार्टीका केन्द्र तहका नेता जिल्ला र गाउँतहसम्म जोडिनुपर्ने पनि निश्कर्ष निकालिएको छ । विशेष रुपान्तरण अभियानका क्रममा केन्द्रीय नेताहरु गाउँतहसम्म पुग्दा त्यसको प्रभाव धेरै राम्रो भएकाले अब यसले निरन्तरता पाउनु पर्ने निश्कर्ष निकालिएको संयोजक तिमिल्सिनाले बताए । ‘चार महिने विशेष रुपान्तरण अभियान धेरै उत्साहजनक भयो । यसले गाउँस्तर र केन्द्र स्तरका नेता, कार्यकर्ता बीच सम्बन्ध नवीकरण गरायो’, उनले भने, ‘यसलाई निरन्तर रुपमा सँधै जोडिनु पर्छ भन्ने निश्कर्ष निकालियो ।’


त्यस्तै अभियानका बेला गाउँमा भए गरेका विकास निर्माणको अबस्थाको पनि अवलोकन गरिएको थियो । लामो समयदेखि अलपत्र परेर बसेका विकास निर्माणका योजनाहरुलाई निरन्तरता दिई सम्पन्न गर्न पहल गर्नुपर्ने पनि समीक्षा गरिएको थियो । ‘पार्टीभित्र तथा बाहिर रहेका समस्या र त्यसको समाधानका उपायहरुको पहिचान यो क्रममा भयो’, उनले भने, ‘कुन कुन पक्षमा सफलता प्राप्त भएका रहेछन्, कुन कुन कुरामा अपुग रहेछ भन्ने पनि पहिचान भयो । ती अपुग भएका कुरालाई कसरी पूरा गर्ने भन्ने विषयमा समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता देखियो ।’ यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने समीक्षा गरिएको संयोजक तिमिल्सिनाले बताए ।


उनको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पालिका कमिटीका अध्यक्षहरुले टिप्पणी गरेका थिए । कमाण्ड इञ्चार्ज हरि अधिकारी, जिल्ला इञ्चार्ज दीपक कोइराला, उर्मिला माझी, कमला नहर्की, लेखबहादुर थापा, विष्णु भट्ट लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्