| बुधबार, कार्तिक २५, २०८३

समयमा नै काम सम्पन्न गर्ने दुई उपभोक्ता समिति सम्मानित

निर्माण व्यवसायीले काम अलपत्र पारिरहेको अबस्थामा निर्धारित समयभन्दा अघि काम सम्पन्न गरेका दुई उपभोक्ता समितिलाई सहिद लखन गाउँपालिका वडा नं. ७ को वडा कार्यालयले सम्मान गरेको छ । कुनै समितिले योजना सम्झौता नै नगर्ने, कुनैले सम्झौता गरेको काम पनि सम्पन्न नगर्ने परिवेशमा निर्धारित समयअगावै काम सकेको भन्दै आरुस्वाँरा सामुदायिक भवन निर्माण उपभोक्ता समिति र पहिरोखोला भवन व्यवस्थापन उपभोक्ता समितिलाई सम्मान गरिएको वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।सो वडाभित्र २१ वटा योजना सञ्चालित छन् ।

तीमध्य यी दुई उपभोक्ता समितिले काम सम्पन्न गरी भुक्तानीसमेत लिई सकेका श्रेष्ठले जानकारी दिए । आरुस्वाँरा उपभोक्ता समितिले मंसिर महिनामा काम सम्पन्न गरी दुई लाख रुपैयाँ भुक्तानी लिई सकेको उनले बताए । सामुदायिक भवन निर्माणका लागि गत असोज १६ गते उपभोक्ता समिति र वडा बीच सम्झौता भएको थियो । फागुन महिना भित्र काम सम्पन्न गर्नेे गरी योजना सम्भौता भएको थियो तर, काम साँढेँ दुई महिना नबित्दै सम्पन्न गरेको वडाध्यक्ष श्रेष्ठले बताए । पहिरो खोला भल व्यवस्थापन उपभोक्ता समितिले पनि फागुन महिनाभित्र काम सम्पन्न गर्ने गरी कत्तिक १४ गते वडासँग सम्भौता गरेको थियो । सो उपभोक्ता समितिले पनि काम सुरु गरेको तीन महिनाभित्रै सम्पन्न गरी भुक्तानी समेत लिई सकेको छ ।

डेढ लाख रुपैँयाको योजनाको काम उक्त उपभोक्ता समितिले भुक्तानी लिने भनेर तोकेको समय अगावै सम्पन्न गरेको हो । दुबै उपभोक्ता समितिका अध्यक्षहरुलाई मंगलबार एक कार्यक्रमका बीच कदर पत्र प्रदान गर्दै सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । उपभोक्ता समितिलाई सम्मान गर्ने काम जिल्लामा नै पहिलो पटक भएको उनले दाबी गरे । ‘सबै उपभोक्ता समितिले निर्धारित समयभित्रै योजना सम्पन्न गरुन् भन्ने उद्देश्यले समयमा नै काम सम्पन्न गर्ने ठेकेदार, ठेकेदार कम्पनीहरुलाई सम्मान गरिएको हो’, उनले भने, ‘यसले गर्दा अरु उपभोक्ता समितिलाई पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने रहेछ भनेर प्रेरणा मिल्छ । अरुलाई पनि सन्देश मिलोस् भनेर सम्मानको कार्यक्रम गरिएको हो ।’ उपभोक्ता समितिलाई हौसला मिल्ने साथै स्थानीय सरकारको बिकास निर्माणको काममा नागरिकहरुको अपनत्व ग्रहण गराउने उद्देश्यले यस कामको थालनी गरिएको उनले बताए ।

‘यो एउटा उदाहरणीय कामको थालनी पनि हो’, उनले भने, ‘यसले नागरिकहरुले अपनत्व ग्रहण गर्नुका साथै सम्मानित हुनका लागि पनि काममा प्रतिस्पर्धा हुन्छ ।’ उपभोक्ता समिति सक्रिय भएर काम गरे भने सबै योजना समयमा नै सम्पन्न हुने उनको भनाइ छ । यी सम्पन्न दुई योजना बाहेक अन्य योजनाको काम पनि फगुन महिना भित्रै भुक्तानी लिने गरी डेडलाइन तोकिएको उनले बताए । ‘योजनाहरुको भुक्तानी असार लागेपछि मात्र लिनुपर्छ भन्ने मानसिकताले काम ढिला हुनु साथै भुक्तानी लिने बेला पनि झञ्झट हुन्छ’, उनले भने, ‘त्यहीँ भएर हामीले चाहिँ फागुन महिनाभित्रै भुक्तानी लिने भनेर डेडलाइन तोकेका छौं ।’ उनका अनुसार सञ्चालनमा रहेको बाँकी योजनामध्य ६० प्रतिशत योजनाको काम पुस महिनाभित्रै सम्पन्न हुने बताए ।

प्रतिक्रिया दिनुहोस्