
छेकम्पारका एक बिरामी वृद्धको हेलिकप्टरबाट उद्धार
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका एक वृद्ध बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सिकिस्त बिमारी परेका ७२ वर्षीय फुन्जो लामाको सोमवार बिहान उद्धार गरी काठमाडौँ लगिएको लामाका छोरा साङ्गे लामाले बताए ।
उनका अनुसार फुन्जो बिगत पाँच दिनदेखि बिरामी परेका थिए । ‘पाँच दिन भयो बिमारी हुनु भाको चाँहि’, उनले भने, ‘दुई दिनसम्म सामान्य रुघा खोकी थियो । अस्तिदेखि त साह्रै नै बिमारी हुनुभयो अनि सोमबार हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ लगेका हौँ ।’
स्थानीय तेन्जिङ ग्याल्जेनको समन्वयमा हेली उद्धार भएको उनले जानकारी दिए । लामाको हाल काठमाडौको मेडिकेयर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।




