
तमु ल्होसारमा जेष्ठ नागरिक र जग्गादातालाई सम्मान
तमु ल्होसारको अवसरमा बारपाक सुलिकोट गाउँपालिका–८ पहरेमा बहृत लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम भएको छ । स्थानीय पहरे मनकामना युवा क्लबको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको अवसरमा वडाका २३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
दोसल्ला ओडाएर उनीहरुलाई सम्मान गरिएको क्लबका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । त्यस्तै खेलमैदान निर्माणका लागी जग्गा निशुल्क उपलब्ध गराउनेहरुलाई पनि सम्मान गरिएको उनले जानकारी दिए । सम्मानित हुनेमा धनमाया गुरुङ, आइतीमाया गुरुङ, रुपबहादुर गुरुङ र टेकबहादुर गुरुङ रहेका छन् ।
क्लबका अध्यक्ष गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा कार्यक्रममा भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सांस्कृतिक विविधता नेपालको पहिचान भएकाले परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।
बिकास निर्माणको कुरालाई जोड्दै उनले भने, ‘जनताको आवश्यकता धेरै छ, तर हामीसँग स्रोत र साधनको कमी छ, एकपटक सम्भव नभएपछि क्रमश त्यो पुरा हुदै जान्छ ।’ घ्याम्पेशालदेखि गाउँपालिकासम्मको सडक कालोपत्रेमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै अवपनि लापरवाही गरे ठेक्का तोड्ने उनले चेतावनी दिए ।
कार्यक्रममा उनीसहित वडा नम्वर ८ का अध्यक्ष शरण गुरुङ, ७ का अध्यक्ष कृष्ण गुरुङ, गोरखा नगरपालिकाका पुर्व मेयर राजनराज पन्त, जिल्ला रेडक्रस सोसाइटी गोरखा शाखाका मन्त्री भिमसेनकाजी वानिया लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु चिजा तामाङ, सुमन परियार, संजय गुरुङ, भूमिका गिरी लगायतको सांगितिक प्रस्तुती रहेको थियो । कार्यक्रम पूर्व घ्याम्पेशाल बजारदेखि कार्यक्रम स्थलसम्म झाँकी सहितको ¥याली समेत भएको बताइएको छ ।




