| बुधबार, कार्तिक २५, २०८३

पर्यटकका सहयोगीको कुपनबापत रकम भुक्तानी सुरु

मनास्लु क्षेत्र(नुब्री उपत्यका र चुम उपत्यका) प्रवेश गर्ने पर्यटकका सहयोगीहरुबाट संकलित कुपनबापतको रकम हस्तान्तरण गर्न सुरु गरिएको छ । सो क्षेत्र प्रवेश गर्ने पर्यटकका गाइड तथा भरियाहरुको कुपनबापत संकलित एक करोड सात लाख ४३ हजार ५४० रुपैयाँ फिर्ता गर्न सुरु गरिएको मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिले जनाएको छ ।

गत बिहिबार र शुक्रबार उपसमितिको बैठक बसी कुपनबापतको रकम प्रदान गर्ने निर्णय भएको उपसमितिका संयोजक गणेश कार्कीले जानकारी दिए । ‘यस क्षेत्रमा करिब एकसय जना होटल व्यवसायीहरु छन् । उनीहरुमध्य अहिले ७१ जना होटल व्यवसायीबाट मात्र कुपन संकलन भएको छ । अरु व्यवसायी आउँदै हुनुहोला’, कार्कीले भने, ‘अब उहाँहरुबाट संकलन भएको कुपनको रकम कुमारी वैँकस्थित उहाँहरुकै खातामा जम्मा गरिदिनेछौँ ।’

मनास्लु क्षेत्र भ्रमणमा आएका पर्यटकका गाइड तथा भरियाहरुले जगतस्थित उपसमितिको कार्यालयबाट ४६ हजार आठसय ७० वटा कुपन किनेर लगेका थिए । जसबाट उपसमितिको खातामा एक करोड १७ लाख १७ हजार रुपैयाँ संकलन भएको थियो ।

पर्यटकका गाइड तथा भरियाहरुले होटलहरुमा खाए, बसेबापतको रकम भुक्तानी नदिने गरेपछि व्यवस्थापन उपसमिति गठन गरी कुपन प्रणालीको व्यवस्था गरिएको थियो । उपसमितिका संयोजक कार्कीका अनुसार उपसमितिसंग किनेर लगेको कुपन गाइड तथा भरियाहरुले होटलमा पेश गरेपछि मात्र उनीहरुलाई खानाको व्यवस्था हुनेगर्छ । सो कुपन उपसमितिमा पेश गरेपछि उपसमितिले सबै होटल व्यवसायीलाई त्यसबापतको रकम भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्