| बुधबार, कार्तिक २५, २०८३

बिभिन्न कार्यविधि अनुमोदन गर्दै चुमनुव्रीको हिउँदे अधिवेशन सम्पन्न

बिभिन्न कार्यविधि अनुमोदन गर्दै चुमनुव्री गाउँपालिकाको १४ औ गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । बिहिवार भएको गाउँसभाले श्रष्टा सम्मान, डोजर एक्साभेटर तथा हेभी उपकरण संचालन, प्रौढ तथा अनौपचारिक शिक्षा संचालन, एम्वुलेन्स संचालन र कृषि सम्बन्धी कार्यक्रम संचालन कार्यविधि २०८० अनुमोदन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।

‘यी कार्यविधिहरु पहिलै कार्यपालिकाबाट पारित भइसकेको थियो अहिले सभाले अनुमोदन गरेको हो,’ उनले भने । डोजर एक्साभेटर तथा हेभी उपरकण संचालन सम्बन्धी कार्यविधिमा उल्लेख भए अनुसार चालक नियुक्त गरेर एक्साभेटर संचालन गरिने उनले जानकारी दिए ।

‘चीन सरकारको सहयोगमा एक्साभेटर प्राप्त भएको छ, अव चालक नियुक्त गरेर त्यसलाई भाडा लगाउछौ, आवश्यकता अनुसार पालिकाको काममा पनि प्रयोग गर्छाै,’ उनले भने । गाउँसभाले अनुमोदन गरेको श्रष्टा सम्मान कार्यविधि अनुसार चुमनुव्री गाउँपालिका स्थायी ठेगाना भइ बिभिन्न क्षेत्रमा योगदान पु¥याउदै आएका व्यक्तिहरुलाई ५० हजार नगद सहित प्रशंसा पत्रले सम्मान गरिने लामिछानेले जानकारी दिए ।

त्यस्तै पालिकाभित्रका बिद्यालय पहुँचभन्दा बाहिर रहेका १५ बर्षमाथिका नागरिकलाई लक्षित गरी अनौपचारिक शिक्षा संचालन गरिने बताइएको छ । शिक्षा दिनका लागी प्रशिक्षक समेत नियुक्त गरिने पालिकाले जनाएको छ । उक्त कार्यक्रम संचालनका लागि तयार भएको प्रौढ तथा अनौपचारिक शिक्षा संचालन कार्यविधि पनि सभाले अनुमोदन गरेको छ ।

‘हामीलाई यही पुस १९ गते स्वास्थ्य कार्यालय मार्फत एम्वुलेन्स हस्तान्तरण हुदैछ, सिर्दिवासको पाङसिङसम्म सडक आइसकेको छ, अव त्यहीबाट भएपनि एम्वुलेन्स संचालन गर्छाै,’ प्रमुख प्रशासकीय अधिकृत लामिछानेले बताए । गाउँपालिका अध्यक्ष निमा लामाको अध्यक्षता तथा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्