
विद्युत नहुँदा वडा कार्यालयको सेवा साँझ र बिहान
धार्चे गाउँपालिकाको सबै बस्तीमा दुईबर्षअघि नै केन्द्रीय प्रशारण लाइनको पोल गाडियो । तार पनि टाँगियो, तर अहिलेसम्म सेवा सञ्चालन गरिएको छैन । सबै बस्तीमा लघुजलविद्युत आयोजनाको विद्युत प्रशारण गरिएको छ । तर लघु जलविद्युत आयोजनाको विद्युत दिउसोको समयमा बन्द हुँदा वडा कार्यालयबाट पाइने सेवा साँझ वा बिहान मात्र लिन बाध्य भएको स्थानीय सेवाग्राहीको गुनासो छ ।
ग्रामीण क्षेत्रमा विद्युत अभावमा वडा कार्यालयबाट साँझ र बिहान सेवा सञ्चालन गर्ने गरिएको छ । वडा नं. १ हुलचुक र वडा नं. ७ को चारवटा बस्तीमा वडा कार्यालयबाट दिइने सेवा साँझ र बिहान दिने गरिएको स्थानीयहरुले बताएका छन् ।
‘केन्द्रीय प्रशारणको बत्ती बाल्ने भनेर पोल गाढेर तार टाँगेको एक बर्ष भयो तर अहिलेसम्म लाइन छोडेको छैन’, वडा नं. १ का अध्यक्ष रामसिँह गुरुङ भन्छन्, ‘अहिले जन्मदर्ता, मृत्यूदर्ता, बसाईसराई जस्ता सबै काम अनलाइनबाट गर्नुपर्छ भन्ने नीति छ । राजस्व लिँदा बिल काट्दा पनि कम्प्यूटरबाट काट्नुपर्छ भन्ने छ । तर गाउँमा लघु जलविद्युत आयोजनाको बत्ती छ । लघुले अघिल्लो दिनको चारबजेदेखि भोलिपल्ट बिहान नौबजेसम्म मात्र बत्ती दिन्छ । काम गर्न कठिनाइ भएको छ ।’ सेवाग्राहीलाई बिहान छ बजेदेखि नौबजेसम्म र बेलुका पनि चारबजेदेखि सेवा लिन बोलाउनु पर्ने अबस्था भएको उनको भनाइ छ ।
वडा नं. ७ मा पनि समस्या उस्तै छ । वडा कार्यालयमा सिफारिस लिन बिहान वा साँझ मात्र जानुपर्ने अबस्था रहेको स्थानीय उज्वल गुरुङले गुनासो गरे । ‘अर्मला, खुर्साने, लिदिङ, लापुवेशी, खानीवेशी हुँदै माछाखोला लाइन पु¥याएको र फेरि रेसे खोलाबाट पनि खानीबेशी, लापुवेशी हुदै मान्बुतिर लाइन लगेको दुई बर्षभइसक्यो । हाम्रो गाउँमा पनि पोल गाडेको, तार टाँगेको दुई बर्ष भइसक्यो, तर लाइनै दिएको छैन’, उनी भन्छन्, ‘लघुको बत्तिको महशुल महिनाको एकसय ५० रुपैयाँ तिर्नुपर्छ, तर दिउसो सेवा पाइँदैन । लाइन नहुँदा वडाबाट सिफारिस लिनुप¥यो भने, कि बिहान, कि साँझ मात्र पाइन्छ ।’ विद्युत प्राधिकरणसंग सम्पर्क गर्दा माग भयो भने तत्काल सेवा दिने तर माग नै नभएको बताउने गरेको उनले बताए ।
दिउसो विद्युत सेवा नपाउँदा विद्यालयमा रहेको १६ वटा कम्प्यूटर विद्यार्थीलाई प्रयोग गर्न दिन पनि समस्या भएको स्थानीय प्रभातकिरण माविका प्रधानाध्यापक जीव गुरुङको भनाइ छ । ‘पहिलेदेखि नै यस्तो समस्या छ । तत्काल केन्द्रीय प्रशारणको लाइन सञ्चालन गर्नुप¥यो भनेर बारम्बार निवेदन लेखेँ’, उनी भन्छन्, ‘केन्द्रीय प्रशारणको लाइन बाल्ने कि नबाल्ने भन्नेमा गाउँमा मत विभाजन भएको छ । कहिलेदेखि बल्छ भन्ने नै निश्चित भएन ।’
केन्द्रीय प्रशारणको लाइनबाट सेवा नपाएको र लघुजलविद्युत आयोजनाले दिनमा सेवा नदिने हुँदा विद्यालयमा सोलार प्रविधि जडान गरेर काम गर्ने गरिएको कालरात्री माविका प्रअ रामचन्द्र गुरुङको भनाइ छ । वडा नं. ७ का लागि तीन वटा लघु जलविद्युत आयोजनाबाट विद्युत सेवा प्रदान गरिएको छ । तीनवटै आयोजनाहरु ऋणमा रहेकाले ऋण तिरिसकेपछि मात्र केन्द्रीय प्रशारणको लाइन प्रयोग गर्ने समुदायको भनाइ रहेको उपभोक्ता समितिका अध्यक्ष मित्रबहादुर सुनार बताउँछन् ।
‘उपभोक्ताले धेरै परिश्रम गरेर लघुजलविद्युत बनाए । बजेट नभएर ऋण गरेर आयोजना बनाइएको छ । ऋण नतिर्दै लघुको लाइन नबाल्दा ऋण तिर्न सकिँदैन । त्यसैले अझै केही समय लघु नै बाल्ने भन्ने समुदायको तर्क छ ।’
तर वडा अध्यक्ष राकेश गुरुङले भने केन्द्रीय प्रशारणको लाइन प्रयोग गर्ने भनेर कात्तिक महिनामै निर्णय भएको बताएका छन् । अब निर्णय कार्यान्वयन हुने उनको भनाइ छ ।




