
रोजगार तथा पूर्वाधार कार्यक्रमको पहिलो गाँसमै ढुंगा, समिति गठनमै विवाद भएपछि रोकियो काम
गोरखा नगरपालिकाले पाइलट प्रोजेक्टका रुपमा वडा नम्वर ११ मा लागू गरेको रोजगार तथा पूर्वाधार कार्यक्रमलाई पहिलो गाँसमै ढुंगा लागेको छ । समिति गठनमा विवाद भएपछि कार्यक्रम अन्तरगत सुरु भएका कामहरु रोकिएका छन् ।
कार्यविधि मिचेर समिति गठन गरेको भन्दै बिरोध भएपछि काम रोकिएको वडा सदस्य रेनकुमार थापा मगरले बताए ।
‘समिति गठन गर्नु अघि नै हामीले वडाध्यक्षसँग कार्यविधि मागेका थियौँ,’ उनले भने, ‘तर उहाँले म सँग पनि छैन नगरपालिकामा छ भन्नुभयो । धमाधम समिति गठन भएर काम पनि सुरु भयो । पछि कार्यविधि हेर्दा कार्यविधिलाई मिचेर समिति गठन भएको पाएपछि समुदाय स्तरबाट पनि बिरोध आयो । हामीले पनि बिरोध जनायौँ अनि काम रोकियो ।’ आफ्नै छोरालाई समितिको अध्यक्ष बनाएको आरोप पनि वडाअध्यक्ष रामबहादुर खड्कामाथि छ ।
कार्यक्रम संचालनका लागि गोरखा नगरपालिकाले निर्माण गरेको रोजगार तथा पूर्वाधार कार्यविधि २०७९ अनुसार लाभान्वित टोलकै स्थानीयलाई समेटेर समिति निर्माण गर्नुपर्ने प्रावधान छ । तर लाभान्वित क्षेत्रभन्दा बाहिरका बासिन्दालाई समितिमा समेटेपछि बिरोध भएको हो ।
उक्त कार्यक्रमका लागि एक करोड ७५ लाख ५० हजार रकम विनियोजन भइसकेको छ । नगरपालिकाबाट एक करोड र बाँकी रकम वडाबाट विनियोजन भएको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए । ‘गोरेटो बाटो, सडक, खानेपानी, टोल बिकास भवन र फुटपाथ गरी पाँच वटा सेक्टरमा खर्च गर्ने भनेर नगर सभाबाट योजना बिनियोजन भएको छ,’ उनले भने ।
वडाभित्र गोरेटो बाटो निर्माण तथा स्तरोन्नतिका लागि २३ लाख, सडक स्तरोन्नतिका लागी ६० लाख, खानेपानी संरक्षण, मर्मत तथा निर्माणका लागि २० लाख, टोल बिकास भवन निर्माणका लागि २२ लाख र फुटपाथ निर्माणका लागि ४५ लाख छुट्याइएको छ । तर काम सुरु हुन नपाउँदै समिति गठनमा भएको विवादले काम अघि बढ्न सकेको छैन ।
विवाद भएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले पनि बताए । ‘विवाद भएर काम रोकिएपछि निर्देशक समितिको बैठक बसेर छलफल पनि भयो । काम अघि बढाउने भन्ने थियो तर म पनि केही दिन जिल्ला बाहिर भएकाले के भा’छ अपडेट छैन,’ उनले भने ।
स्थानीयलाई रोजगार दिने भन्दै नगरपालिकाले उक्त वडामा पाइलोटिङको रुपमा यो कार्यक्रम लागू गरेको थियो । तर समिति गठनमै विवाद भएपछि काम सुरु हुन नपाउँदै रोकिएको छ । कार्यविधि बिपरीत समिति गठन भएपछि बिरोध भएको वडा सदस्य मगर बताउँछन् । सडक स्तरोन्नतिका लागि वडाध्यक्ष रामबहादुर खड्काले आफ्नै छोरालाई अध्यक्ष बनाएर समिति गठन गरेको भन्दै आलोचना पनि भएको छ । यस बिषयमा थप बुझ्न खोज्दा वडाध्यक्ष खड्कासंग मोबाइलमा सम्पर्क हुन सकेन ।




