
पालुङटारका दुई बेवारिसे बालक मानव सेवा आश्रमद्वारा उद्धार
मानव सेवा आश्रम, गोरखा शाखाले पालुङ्टारबाट दुई जना बेवारिसे बालकलाई उद्धार गरेको छ । पालुङटार नगरपालिका वडा नं ५ माझटारबाट १० वर्षीय राम मगर र लक्ष्मण मगरलाई उद्धार गरिएको आश्रमकी प्रमुख मुना लामाले जानकारी दिइन् । पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बेवारिसे अवस्थाका दुई जना बालकलाई उद्धार गरिदिन आव्हान गरेपछि प्रहरीको मद्धतबाट उनीहरुको उद्धार गरिएको उनले बताइन् ।
उनीहरुलाई सोमबार राती प्रहरीले उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालयको आग्रहमा ती बालकहरुलाई आश्रममा ल्याइएको आश्रम गोरखाकी मुना लामाले बताइन् । उद्धार गरिएका दुवै बालक जुम्ल्याहा भएको बताइएको छ । उनीहरुको घर आरुघाट गाउँपालिका वडा नं ४ भएको बताएको पनि उनले जानकारी दिइन् ।




