
छेकम्पारका वाङचुक राप्तेनलाई भारतमा पनि अवार्ड
चुमनुब्री ७ छेकम्पारका युवा समाजसेवी वाङचुक राप्तेन लामा भारतमा पनि सम्मानित भएका छन् । केही समयअघि मात्र सिंगापुरबाट काइण्डनेश तथा लिडरसिप अवार्डबाट सम्मानित भएर फर्केका किमोलुङ फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष वाङचुकलाई भारतमा पनि अवार्ड प्रदान गरिएको हो ।
भारतको उत्तर प्रदेश आर्टिस्ट एकेडेमीले लामालाई यूपीएए अवार्ड २०२३ को ३० औं संस्करणका अवसरमा सम्मान गरेको हो । ग्रामिण स्वास्थ्य क्षेत्रमा उनको असाधारण योगदानको कदर गर्दै सम्मान गरिएको जनाइएको छ ।
यूपीएए पुरस्कार, सन् २०१८ मा उत्तर प्रदेश कलाकार एकेडेमीद्वारा सुरु गरिएको हो । शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक लगायत क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई एकेडेमीले सम्मान गर्दै आएको छ । ३० औँ संस्करण गत शनिबार सम्पन्न भएको थियो । जसमा उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मुख्यमन्त्री पाठकले कला, पत्रकारिता र सामाजिक अभियानमा संलग्न व्यक्तिहरूलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे ।
सम्मानित हुनेमा जनस्तरमा स्वतन्त्र तबरले नेपाल भारत सांस्कृतिक मैत्री अभियानमा सक्रिय युवाहरु छन । जसमा समाजसेवा तथा स्वास्थ्यमा वाङचुक राप्तेन लामा र संचार क्षेत्रबाट सरोज ओझाका रहेका छन् । एकेडेमीले भारत, नेपाल लगायतका देशका नागरिकहरुलाई युपीएए अवार्डबाट सम्मानित गरेको हो ।
कार्यक्रममा दिग्गज बलिउड कलाकारदेखि मोडल, सामाजिक अभियन्ता, शिक्षाविद, पत्रकार, खेलकर्मी लगायतका पेशाकर्मीहरुको सहभागीता रहेको थियो ।
उत्तरी गोरखामा स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका लामाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन र प्रश्रव केन्द्र स्थापनामा सक्रियता देखाएको भन्दै यो पुरस्कार प्रदान गरिएको हो ।
किमोलुङ फाउन्डेसन नेपालको स्थापनामा गरेर लामाले अति दुर्गम हिमाली भेगको शिक्षा, स्वास्थ्य सेवा, खाद्य सुरक्षा, र प्रकोप सहायता क्षेत्रमा क्रियाशील छन् । उनले फाउन्डेसन मार्फत चुमनुब्रीका विभिन्न वडामा हेपाटाइटिस बि का बिरामीको खोज तलासी तथा खोप अभियान पनि सञ्चालन गरेका थिए । फाउन्डेसनले अहिलेसम्म ८० हजार भन्दा बढी व्यक्तिहरूलाई सेवा दिइसकेको जनाएको छ ।
किमोलुङ फाउण्डेसनका संस्थापक अध्यक्ष लामालाई नेपाल सरकारले समाज सेवा रत्न पदकबाट पनि सम्मान गरेको थियो ।




