
मुग्लिन–खैरेनीको पाँच किलोमिटर सडकखण्ड गोरखातर्फ निर्माण गरिने
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–खेरेनीको पाँच किलोमिटर खण्ड गोरखातर्फ बन्ने भएको छ । मुग्लिनभन्दा चारसय मिटर पर पक्की पुल निर्माण गरेर गोरखाको वनक्षेत्र हुँदै खैरेनीतर्फ ५.६ किलोमिटर सडक निर्माण गर्ने सडक विभागले जनाएको छ ।
स्तरोन्नति भइरहेको मुग्लिन–पोखरा सडकको मुग्लिन–आँबुखैरेनी खण्डमा रहेको मस्र्याङ्दी विद्युतगृहमा असर नपार्नका लागि यसो गर्न लागिएको सडक विभागका महानिर्देशक सुशील ढकालले जानकारी दिए । उनका अनुसार मुग्लिन भन्दा चारसय ५० मिटर परबाट त्रिशुली तारेर लगिएको राजमार्ग विद्युतगृह कटेपछि राजमार्गको साविककै ठाउँमा जोड्ने गरी डिजाइन गरिएको छ ।
‘एशियाली विकास वैँकको ऋण सहयोगमा निर्माण गरिने राजमार्गको डिजाइन विद्युतगृहलाई बचाउने गरी भइसकेको छ’, ढकालले भने, ‘तर इआइएका लागि धेरै समय लाग्छ । अबको दुईबर्षभित्र काम सुरु हुनसक्छ ।’ विद्युतगृह जोगाउनका लागि सडकलाई ‘बाइपास’ गर्न लागिएको उनको भनाइ छ ।
विद्युतगृह कट्ने वित्तिकै राजमार्गमा नजोडी आँबुखैरेनी बजार कटाएर मात्र साविकको राजमार्गमा जोड्ने विषयमा पनि छलफल भएको छ । आँबुखैरेनीभन्दा पारि(बनौति)बाट मस्र्याङ्दी पुल हुँदै आँबुखैरेनी बजारलाई बाइपास गरेर साविकको राजमार्गमा जोड्ने बिषयमा पनि बैकल्पिक प्रस्ताब गरिएको हो । ‘बनौति हुँदै मस्र्याङ्दीको पुल तारेर अँबुखैरेनी बजार कटेपछि साविकको राजमार्गमा जोड्ने प्रस्ताब पनि छलफलमा छ’, स्थानीय कृष्णप्रसाद देवकोटाले भने, ‘यसका लागि गोरखातर्फको नेतृत्व गर्नेहरुले कति पहल गर्न सक्छन् भन्नेमा निर्भर गर्छ ।’
तर आँबुखैरेनी बजारलाई बाइपास गर्न नहुने स्थानीयबासीको भनाइ छ । ‘बजार बाइपास गर्न हुदैन’, स्थानीय हरिभक्त श्रेष्ठ भन्छन्, ‘बजार बाइपास गरेपछि बजार ओझेल परिहाल्छ नि । ऐनापहरानेर ल्याएर जोड्ने भन्ने जुन डिजाइन छ, त्यही कार्यान्वयन हुनुपर्छ । बजारबासीले त्यही मानसिकता बनाएर घर बनाएका छन् ।’ अगाडि सटर राखे पनि मुख्य घर २५ मिटर छाडेर बनाइरहेको उनले बताए ।
फाइल तस्बिर




