| बुधबार, कार्तिक २५, २०८३

गोरखामा योमरी पुन्हीको रौनक कम भएको नेवा देय दवुको गुनासो

नेवार समुदायले मंगलबार योमरी पुन्ही धुमधामले मनाएका छन् । नेवारको बाक्लो बस्ती रहेका काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका देशका विभिन्न गाउँ सहरहरुमा सो समुदायले यो पर्व हर्ष उल्लासका साथ मनाएका हुन् । नेपाल समुदायको मौलिक खानेकुरा योमरी खाने तथा अन्नकी देवी(अन्नपूर्ण)को पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । साथै योमरी खाएर, आफन्त, छरछिमेक, साथीसंगीलाई बाँडेर यो पर्व मनाउने गरिन्छ ।

योमरी चामलको पिठोबाट बन्ने परिकार हो । नयाँ बालीको रूपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी बनाएर नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । अण्डाकार रूपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ । योमरी पुन्ही पर्व हरेक बर्ष नेपाल संवत्को दोश्रो महिनामा मनाइने गरिन्छ ।

१८ हजार नेवार समुदायको बसोबास रहेको गोरखामा पनि योमरी पुन्ही मनाइएको छ । सामान्य तबरले योमरी खाएर तथा शुभकामना आदानप्रदान गरी योमरी पुन्ही मनाइएको नेवाःदेय दवु गोरखाका उपाध्यक्ष रामबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार गोरखामा नेवार समुदायको करिब ४० वटा गुठी छन् । तीमध्य ११ वटा गुठी गोरखा नगरपालिकामा मात्रै रहेको उपाध्यक्ष श्रेष्ठले बताए ।

बिगतमा झै गोरखामा यो वर्ष भव्य रुपमा योमरी पुन्ही नमनाइएको नेवाःदेय दवु गोरखाका अध्यक्ष देवीप्रसाद श्रेष्ठले बताए । योमरी बनाउन जान्ने जनशक्तिको अभावका कारण जिल्लामा योमरी पुर्णिमाको लोकप्रियता घटेको नेवाः देय दबुगोरखा जिल्ला अध्यक्ष देवी प्रसाद श्रेष्ठले बताए । ‘योमरी बनाउने सिप हस्तान्तरण हुन सकेन’, उनले भने, ‘योमरी बनाउन जान्ने जनशक्तिको अभाबका कारण योमरी पुन्ही मनाउन गाह्रो भयो ।’

उनका अनुसार अहिले मानिसहरुले परम्परागत परिकार भन्दा पनि बजारमा पाईने फास्ट फुड रुचाउँछन् । युवा पुस्ता माँझ योमरीको मोह घट्दो रहेको उनको भनाइ छ । सामुहिक रुपमा योमरी पुन्ही नमनाएता पनि कतिपय नेवार जातिले पारिवारिक रुपमा योमरी बनाउने र खाने उनले बताए ।

जिल्लामा नेवार जातिको संस्कृतिलाई जर्गेन गर्ने उदेश्यले नेवाः देय दबु र नेवाः निसा दबु लगायतका संस्थाहरु संचालनमा छन् । यी संस्थाहरुले समय समयमा नेवारी परम्परा र संस्कृति बचाउने खालको कार्यक्रमहरु गर्दै आएको अध्यक्ष देवी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्