| बुधबार, कार्तिक २५, २०८३

आज उँधौली : बेशी झार्न थालियो पाङसिङका भेँडीगोठ

आठ बर्षको उमेरदेखि भेँडीगोठमा बसेका चुमनुब्री ३ पाङसिङका नवीन गुरुङलाई घरभन्दा गोठै प्यारो लाग्छ । गाउँमा आयो भने मान्छे धेरै भेटिने, धेरै मान्छेका धेरै कुरा सुन्नुपर्ने, घर व्यवहारको उस्तै तनाबी कुरा सुन्नुपर्ने । आफ्नो घरको पनि तनाब, अर्काको पनि तनाबका कुरा सुन्नुभन्दा गोठमै बस्दा स्वर्गीय आनन्द लाग्ने उनको अनुभव छ ।

‘सबभन्दा रमाइलो त लेकमा गोठ लगेको बेला हुन्छ’, नवीन भन्छन्, ‘पहाडको टुप्पामा जता हे¥यो उतै धेरै फराकिलो चहुर, घाँसे मैदान हुन्छ । भेँडा अर्काको बारीमा पसेर बाली खाइदेला भन्ने पीर पनि नहुने । रमाइलोबाहेक अरु केही हुन्न ।’ गाउँमा आउँदा कोही मोबाइल हेरेर दुनियाँभरका कुरा गर्ने, कोही राजनीतिको कुरा गरेर दिक्क पार्ने उनले बताए ।

उनी अहिले भर्खर २१ बर्ष पुगे । बिहे गरेका छैनन् । अब बिहे गर्ने, गोठमै रमाइलो जीवन बिताउने सौख उनले सुनाए । ‘एउटा साँढको २५ हजार पर्छ । बर्षमा १० वटा बेच्न सकियो भने साउदी, कतार जानेलाई जित्न सकिन्छ’, उनी भन्छन्, ‘गाउँमा आउँदा अरु विदेश जाने कुरा गर्छन् । मलाई त गोठै रमाइलो । कमाइ पनि हुने, रमाइलो पनि हुने ।’ लेकको ठूलो चौर, घाँसे मैदानमा भेँडा छोडेर आनन्दले बस्न मज्जा आउने उनको भनाइ छ । ‘तर ठूलो जंगलमा भेँडा हरायो भने खोज्दाखोज्दै हैरान भइन्छ । त्यतिबेलाचाहिँ दुख हुन्छ’, उनी भन्छन्, ‘कहिलेकहीँ गोठमा एक्लै भइयो र बिरामी परियो भने पनि गाह्रो हुन्छ ।’
अहिले उनको भेँडा बेशी झरेको छ । गाउँभन्दा पारि चिसापानीको खुल्ला आकासमुनि रहेको गोठ देखाउँदै उनी भन्छन्, ‘ऊ हेर्नुस् त त्यो गरामा गएराती भेँडा बास बसेको हो । अहिले उज्यालो भएपछि सबै चर्न गइसके । भकारीले बारेर राखेको छ नि त्यहाँ भेँडाको बच्चाहरु छन् । बच्चा निस्किए भने फर्कन जान्दैनन् । कि हराउँछन्, कि जंगली जनावरले खाइदिन्छ । त्यसैले तिनीहरुलाई दिनभर भकारीले बारेर राख्छौँ । बेलुका आमा आएपछि आमासित बस्छन् ।’ एउटा गोठमा कम्तीमा चार, पाँच घरधुरीका भेँडाहरु राखिन्छ । कुनै गोठमा दुईसय, कुनैमा तीनसय वटा भेँडाहरु हुन्छन् । ‘जति धेरै भेँडा भए पनि गोठालाले आफ्नो भेँडा सजिलैसंग चिन्छन्’, नवीनले भने ।

त्रिपाल पाउन पाए गोठमा बस्ने गोठाला र भेँडालाई धेरै ठूलो राहत हुने उनले बताए । अहिले भेँडा बेशी झार्ने सिजन हो । कोदो, मकै भित्र्याएर बारी खनिएपछि चराउन र मोल्न बारीमा गोठ झारेको अर्का भेँडी गोठाला बलबहादुर गुरुङले बताए । ‘मंसीरमा गाउँसम्म झारिन्छ । चैत लागेपछि लेक लैजानु पर्छ । बच्चा पाउने भएका र सुत्नेरी हुने बेला औलमा प¥यो भने राम्ररी सप्रिँदैनन् । त्यसैले तल झार्नुभन्दा लेक लैजाँदा नै हामी खुशी हुन्छौँ ।’ अरु ठाउँमा भेँडागोठ राख्ने परम्परा विस्तारै घट्दै गएपनि पाङसिङमा भेँडागोठ राख्ने चलन यथावत रहेको उनको भनाइ छ ।

पाङसिङ भेँडापालनका लागि जिल्लाको सबैभन्दा चर्चित ठाउँ हो । यहाँका ११६ घरधुरीमध्य करिब ७० घरधुरीले भेँडापालन गरेका छन् । ‘हाम्रो वडा नं. ३ का किसानहरुको २८ वटा गोठहरु छन् । तिनीहरुमध्य १५ वटा पाङसिङकै हो’, पाङसिङ घर भर भएका वडा सदस्य विकास गुरुङ भन्छन्, ‘एउटा गोठमा करिब पाँच घरधुरीका भेँडाहरु हुन्छन् ।’ एकजनाकै कम्तिमा ५० वटादेखि दुईसय, तीनसयवटासम्म भेँडा हुने उनले बताए । गोठमा खानेपानीको दुख हुने उनको भनाइ छ । पाङसिङका भेँडाहरु मंसीर, पुस, माघ, फागुन महिनामा गोरखा, धादिङ र लम्जुङ जिल्लाका विभिन्न भूभागसम्म पुग्छन् ।

गोरखाका साविकका मान्बु, स्वाँरा, लापु, बारपाक, सौरपानी, लाप्राक, गुम्दा, सिङ्ला, उहिया, घ्याच्चोक, हंशपुर, खरीबोट गाविस तथा लम्जुङका विभिन्न गाविस हुँदै बेशीसहरसम्म लैजाने अर्का भेँडी गोठाला लाङ्वा गुरुङले बताए । ‘म त सानैदेखि गोठमै हुर्केको हो । अहिले पनि गाउँघर भन्दा गोठै प्यारो लाग्छ । म गोठमा बसेन भने भेँडा कसले चिन्ने ?’, उनी भन्छन्, ‘कुनै कुनै लेकमा पानी खान पाइँदैन । कतै जुकाभित्र हिँड्नु पर्छ । कुनै बेला हिउँ परेर सुत्न, बस्न सकिँदैन । त्यतिबेला साह्रै दुख हुन्छ ।’ आफूले बेलामा पढ्न नपाए पनि भेँडा बेचेको पैसाले अहिले छोराछोरीलाई काठमाडौँमा राखेर पढाएको उनले बताए । ‘दुइटा छोरी, एउटा छोरा छ । आफूले दुख पाए पनि उनीहरुलाईचाहिँ पढाएको छु’, उनले भने, ‘ठूलो छोरीलाईचाहिँ विदेश पठाएको छु ।’ गाउँमा प्राचीन कालदेखिको भेँडीगोठको परम्परा यथावत रहेको वडा सदस्य विकास गुरुङको भनाइ छ ।

‘भेँडीगोठ अन्यत्र मास्सिदै गएको छ भन्ने सुनिन्छ । हाम्रोमा भने यथावत छ । त्यसैले मैले भेँडीगोठ संरक्षण र विकास गर्ने कार्यक्रम बनाएर पालिकासंग बजेट माग गरेको छु । यसबर्ष त्रिपाल किन्नका लागि दुई लाख रुपैयाँ बजेट परेको पनि छ’, उनले भने , ‘अरु ठाउँमा २०, २५ वटा बाख्रा पाल्नेले सरकारी अनुदान खाएका छन् । यहाँ दुईसय, तीनसय भेँडा पाल्ने किसान छन् । तर कहीँबाट अनुदान आएको छैन । किसानलाई माग गर्ने मेसो पनि छैन, फुर्सद पनि छैन ।’ संघीय सरकार तथा प्रदेश सरकारले यहाँका सिदासादा किसानलाई प्रोत्साहन गर्न सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्