| बुधबार, कार्तिक २५, २०८३

कांग्रेस गोरखाद्वारा राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वारका १६ आकांक्षीको नाम सिफारिस

नेपाली कांग्रेस गोरखाले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वार बन्न चाहने आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएको छ । सोमवार बसेको पार्टी जिल्ला समितिको पदाधिकारी एवं उपलब्ध जिल्ला सदस्यहरुको बैठकले निर्णय गर्दै कुल १६ जनाको नाम सिफारिस गरी पठाएको हो ।

महिलाबाट तीन, अपाङ्ग र अल्पसंख्यकबाट चार र अन्यबाट नौ जनाको नाम सिफारिस गरी पठाइएको कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले बताए । उनका अनुसार महिलातर्फबाट रविकला खनाल, मनकुमारी गुरुङ र कमला लामिछानेको नाम सिफारिस भएको छ । अपाङ्ग तथा अल्पसंख्यकबाट सिफारिस हुनेमा हरिबहादुर घले, दिपक हमाल, जगत बराम र हरिबहादुर गान्धारी रहेका छन् ।

अन्यबाट भने चिनकाजी श्रेष्ठ, अब्दुल सतार, किरणबाबु श्रेष्ठ, जिवनप्रेम श्रेष्ठ, पूर्णबहादुर दाहाल, कृष्णबहादुर आले, बिश्वदेव श्रेष्ठ, मोहनप्रकाश पोखरेल र युवराज बास्ताकोटीको नाम सिफारिस भएको थापाले जानकारी दिए । ‘पार्टीको गण्डकी प्रदेश समितिमा जिल्लाले नाम सिफारिस गरेर पठाएका हौँ, अब प्रदेशले केन्द्रमा सिफारिस गरेर पठाउँछ । अन्तिम निर्णय केन्द्रले गर्छ,’ उनले भने । २९ मंसिरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० पुसभित्र तीन जनाको नाम सिफारिस गर्न प्रदेश समितिहरुलाई निर्देशन दिएको थियो । प्रदेशले पनि जिल्ला कार्यसमितिलाई तीन जनाको नाम सिफारिस पत्राचार गरेको हो ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेले भने केही दिनमा नामहरु सिफारिस गरेर पठाउने जनाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ । राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदमा चुनाव हुन लागेको छ । राष्ट्रियसभा सदस्य प्रदेशस्तरमा हुने चुनावबाट निर्वाचित हुन्छन् र यसपटकको चुनावमा सातमध्ये कुनै प्रदेशमा ३ र कुनैमा २ पदका लागि चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्