
सिखरको अस्लामी गाउँ र दलितबस्तीका बासिन्दालाई खानेपानीको सुविधा
गोरखा नगरपालिका २ सिखरको अस्लामी गाउँ र दलितबस्तीका ४८ घरधुरीले अब डोको बोकेर पानी लिन जानु नपर्ने भएको छ । सञ्चालित साउने खोल्सी लिफ्टिङ मुस खानेपानी आयोजनाको शनिबार उद्घाटन गरिएको छ । नौ महिनाअघि निर्माण आरम्भ गरिएको सो आयोजना हालै निर्माण सम्पन्न भएपछि गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उद्घाटन गरेका हुन् ।
रिन्यूअल वल्र्ड नामक दातृ निकायबाट प्राप्त २५ लाख, गोरखा नगरपालिकाको १८ लाख ५८ हजार र स्थानीय उपभोक्ताको ११ लाख बराबरको लागत साझेदारीमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजना निर्माणका लागि गोरेटो गोरखा नामक गैरसरकारी संस्थाले समन्वय तथा सहजिकरण गरेको थियो ।
आयोजना निर्माण भएपछि सो गाउँका ४८ घर परिबार लाभान्वित भएका छन् । यसअघि सोही आयोजनाको मुहानबाट डोकोमा पानी बोकेर ल्याउने अबस्था थियो । आयोजना निर्माण भएपछि त्यहाँका दलित तथा मगर समुदायका बासिन्दालाई सुविधा भएको वडाअध्यक्ष रहमतुल्लाह मियाँले जानकारी दिए ।




