| बुधबार, कार्तिक २५, २०८३

माओवादीका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्झनामा पार्क

प्रतीक्षा आले :

बारपाक सुलिकोट गाउँपालिका ८ पन्दु्रङ माथिल्लो जराङमा माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्झनामा पार्क निर्माण भएको छ । माओवादीले जनयुद्ध सुरु गरेपछि २०५२ साल फागुन १४ गते पहिलो पटक बारपाक सुलिकोट गाउँपालिका (साविक पन्दु्रङ गाउँ बिकास समिति वडा नं २) का रम्तेल पहिलो पटक मारिएका थिए ।

उनै रम्तेलको सम्झनामा पार्क निर्माण गरिएको वडा नं ८ का अध्यक्ष शरण गुरुङले बताए । २०७८ सालबाट निर्माण सृुरु गरिएको उक्त पार्कको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको ईन्जिनियर अभिनाश गौतमले जानकारी दिए । संघीय सरकारको ५ करोड रुपैयाँ लागतमा उक्त पार्क निर्माण गरिएको हो । ओमसत्य साई कन्स्ट्रकशन प्रालि चितवनले जिम्मा लिएको उक्त पार्क निर्माणको काम लगभग सकिएको र छिटै पालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको गौतमले बताए । पार्कभित्र सङ्ग्राहलय, पोखरी, भ्यूटावर र चौरहरु निर्माण गरिएका छन् ।

अध्यक्ष शरण गुरुङका अनुसार पार्क निर्माणको भौतिक काम लगभग सम्पन्न भएपनि आन्तरिक काम भने बाँकी नै छ । ‘भित्रि सजावटको कामहरु बाँकी छ’, उनले भने, ‘ भित्रि कामहरु पनि छिटै सम्पन्न गर्ने तयारीमा छौँ ।’ यसवर्ष पनि आन्तरिक कामकै लागि संघ र प्रदेश सरकारबाट १—१ करोड रुपैँयाँ विनियोजन भएको गुरुङले बताए ।

पार्क करिब ९ रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्कमा १ जना कर्मचारी राखेर छिट्टै संचालनमा ल्याउने तयारी भईरहेको बताइएको छ । सहुलियत टिकट शुल्क राखेर धेरै भन्दा धेरै आन्तरिक र बह्य पर्यटक भित्राउने लक्ष्य पालिकाको छ ।
गाउँपालिकाको समन्वयमा साढे ३ करोड रुपैयाँ लागतमा उक्त पार्क निर्माण गरिएको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए ।

रम्तेलको घरनेर निर्माण गर्ने भनिए पनि जग्गा अभावका कारण टाढा निर्माण गरिएको भट्टले बताए । ‘पार्क सबैको पायक पर्ने ठाउँमा बनाएका छौँ’, उनले भने, ‘त्यहाँ पनि जग्गा पर्याप्त छैन । पिक्निक स्पोट निर्माणका लागि ठाउँ पुगेको छैन ।’
पार्कभित्र रम्तेलको सालिक निर्माण गरिएको छ । साथै त्यहाँ टिकट काउन्टर सहिदको सङग्राहलय पनि निर्माण गरिएको छ ।
पोखरी, भ्यूटावर र पिक्निक स्पोट बनाउने उद्देश्यले ठुलाठुला चौरहरु समेत निर्माण गरिएको भट्टले जानकारी दिए ।

११ वर्षको उमेरमा दिलबहादुर रम्तेलले सहादत पाएका थिए । त्यतिबेला सूर्यज्योति माध्यमिक विद्यालयका एक शिक्षकलाई माओवादीको आरोपमा प्रहरीले गिराफ्तार गरेपछि स्थानीयले छेकथुन गर्दा प्रहरीले गोली चलाएको थियो । सोही घटनामा परी व्रह्मचारिणी निमाविमा पढ्ने रम्तेलको मृत्यू भएको हो ।

जनयुद्ध सुरु गरेपछिको पहिलो सहादत भएकाले माओवादीले उनै रम्तेललाई प्रथम सहिदको संज्ञा दिएको छ । उनको स्मृतिमा माओवादीको अगुवाइमा सहिदस्मृति पार्क निर्माण गरिएको हो । पार्क भित्र निर्माण गरिएको सङग्राहलयमा उनी लगायत जनयुद्धमा मारिएका अन्य शहिदहरुको तस्बिर राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्