| बुधबार, कार्तिक २५, २०८३

लाप्राकमा होमस्टे व्यवसाय तालिम सम्पन्न

धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा होमस्टे व्यवसाय तालिम सम्पन्न भएको छ । धार्चे गाउँपालिकाको तथा पर्यटन बोर्ड अन्तरगतको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको सयुक्त आयोजनामा होमस्टे व्यवसाय तालिम सम्पन्न भएको हो ।

उद्यमशिलता सिप विकास कार्यक्रम अन्तरगत होमस्टे व्यवसाय तालिम भएको गाउँपालिकाको प्रशासन तथा योजना शाखाका अधिकृत रुलबहादुर आलेले बताए । मंसीर २ गतेबाट सुरु भएको तालिम पुस ३ गते सम्मको सात दिने तालिम मंगलबार सम्पन्न भएको हो । सात दिने तालिममा पालिकाबाट उद्यमशीलतातर्फ व्यवसायी कसरी गर्ने, सफल व्यवसाय बन्न के के गर्नुपर्छ, योजना कसरी बनाउने, व्यवसाय दर्ता, नविकरण, बजार अनुगमन लगायतका बारेमा जानकारी गराएको उनले बताए ।

त्यस्तै, होमस्टे महासंघको तर्फबाट सुजन बास्तोला, राजकुमार लामिछाने पर्यटन व्यवसाय सम्बन्धी जानकारी गराएका थिए । उनीहरुले पर्यटक आउदा कसरी स्वागत गर्ने, उनीहरु केकस्तो खानाकुराहरु बनाइदिने, विदाइ कसरी गर्ने तथा पाहुनालाई कसरी राख्ने भनेर स्थानीयहरुलाई जानकारी गराएका थिए । त्यसका साथै स्थानीय उत्पादनलाई जोड दिनका लागि स्थानीयस्तरमै उत्पादन भएका खानेकुराहरु बनाउने तरिका पनि सिकाएको उनले बताए । उक्त तालिममा लाप्राक एकीकृत नमूना बस्तीमा होमस्टे संचालन गर्दै आएका १९ जना स्थानीयहरुको सहभागिता थियो । स्थानीयको माग र पालिकाको वार्षिक योजना अनुसार कार्यक्रम गरिएको उनले बताए ।

यस प्रकारको तालिमले पालिकाका पर्यटन क्षेत्रका विकास, विस्तार र प्रबद्र्धनमा सहयोग पुग्ने उनले बताए । साथै स्थानीयहरुको आयआर्जन बृद्धि गर्न समेत मद्धत पुग्ने जनाएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, वडा अध्यक्ष किसान गुरुङ, वडा सदस्यहरु, पालिकाको प्रशासन तथा योजना शाखाका अधिकृत रुलबहादुर आले, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख दीपक सिर्मल, पालिकाको कार्याक्रम संयोजक सुजन शर्मा लगायत होमस्टे महासंघका प्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्