| बुधबार, कार्तिक २५, २०८३

चुमनुब्रीका एकहजार भन्दा धेरै घरमा एकघर एकधारा

घरमै शुद्ध खानेपानीको धारा निर्माण भएपछि चुमनुब्री ६ चुम्चेत गाउँका बासिन्दा खुशी भएका छन् । यसअघि टोलमा केही धारा मात्र रहेको चुम्चेतमा हरेक घरमा धारा बनेपछि अहिले खानेपानी उपभोग गर्नका लागि सजिलो भएको स्थानीय पासाङ लामाको भनाइ छ ।

‘घरघरमा धारा बनेको छ । पानीको कुनै समस्या छैन’, उनले भने, ‘पहिले एउटा टोलमा एउटा, दुइटा मात्र धारा हुन्थ्यो । अहिलेचाहिँ घरैपिच्छे धारा बनेको छ ।’ खानेपानीका धाराका साथमा सरसफाइका लागि घरघरमा सौचालय पनि निर्माण भएको उनको भनाइ छ । अहिले चुम्चेतमा शुद्ध खानेपानी र सरसफाइसम्बन्धी चेतनाको विकास हुदै गएको लामाको भनाइ छ ।

गोरखास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार वडा नं. ६ (साविक चुम्चेत गाविस)मा २३७ घरमा एकघर एकधारा र सौचालय बनेका छन् । ‘वडा नं. १ का २०७ घरमा र वडा नं. २, ३, ४, ५ र ६ का ६०९ घरधुरीमा एकघर एकधारा बनिसकेका छन्’, कार्यालयका इञ्जिनियर शम्भुराज खनालले भने, ‘खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, संघीय खानेपानी कार्यालय, गाउँपालिका कार्यालय र एनजीओ, आइएनजीओहरु सबैले सञ्चालन गरेको एक घर एक धारा अभियानको तथ्यांक हो यो ।’ वडा नं. ७ को तथ्यांक भने कार्यालयबाट प्राप्त हुन सकेन ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार चुमनुब्री गाउँपालिकामा २०६८ घरधुरी रहेका छन् । दुईहजारमध्य एकहजार भन्दा धेरै घरधुरीमा एकघर एकधारा र सौचालय निर्माण भएको छ । एकघर एकधारा अभियानमा स्थानीयबासीले उत्साहपूर्वक साथ दिएका खानेपानी डिभिजन कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्