| बुधबार, कार्तिक २५, २०८३

धार्चे गाउँपालिकाको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी प्रभात किरणलाई

धार्चे गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मंसिर २८ गतेबाट गाउँपालिका केन्द्र माछीखोलामा सुरु भएको प्रतियोगिताको उपाधी प्रभात किरण माविले जितेको छ । उक्त बिद्यालयले ७ स्वर्ण, ३ रजत र २ कास्य गरी कुल १२ पदक प्राप्त गरेको गाउँपालिका शिक्षा शाखाका शिक्षा संयोजक टेकबहादुर गुरुङले बताए । उपाधी बिजेता उक्त बिद्यालयले शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाएको उनले जानकारी दिए ।

त्यस्तै ६ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गर्दै केरौजा मावि दोस्रो बनेको छ । प्रतियोगितामा मणिकामदेवी मावि तेस्रो बनेको पालिकाले जनाएको छ । उक्त बिद्यालयले ४ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको थियो । दोस्रो र तेस्रो हुने टिमलाई ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको बताइएको छ । प्रतियोगितामा पालिका भित्रका नौ वटा माविका तीन सय भन्दा बढी विद्यार्थी सहभागी थिए ।

यता शहिदलखन गाउँपालिकामा पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा तथा श्री हिमालय मावि बास्कोटको सह–आयोजनामा शनिबारबाट प्रथम सहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुरु भएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले उद्घाटन गरेको प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा माविको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन छात्र र छात्र बीचको भलिबल, दौड, लङ्ग जम्प, सटपुट लगायतका खेल सम्पन्न भएको गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । प्रतियोगिता पुस २ गतेसम्म संचालन हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्