
छेपेटारमा निर्माणाधीन जेष्ठ नागरिक भवन अलपत्र
जिल्लामा अलपत्र बनेका योजनामध्ये गोरखा नगरपालिका–१० छेपेटारको जेष्ठ नागरिक भवन पनि एक हो । दुई बर्षमा सक्नुपर्ने उक्त भवन निर्माणको काम चार बर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । ठेकेदारको ढिलासुस्तीका कारण कारण योजना अलपत्र परेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार योजना निर्माणका लागि आशिष÷इको जेभी भरतपुरसँग २०७६ बैशाख ५ गते ठेक्का सम्झौता भएको थियो । दुई बर्षमा काम सक्ने गरी ठेक्का सम्झौता भएको कार्यालयका निमित्त प्रमुख गणेश सुवेदीले बताए । ‘समय सकिएर एकपटक म्याद थप पनि भइसक्यो,’ उनले भने, ‘थप भएको म्यादअनुसार २०७९ भदौ २१ गतेभित्र काम सक्नुपर्ने हो तर काम अझै बाँकी छ ।’ उक्त योजनाको हालसम्म ७५ प्रतिशत मात्र भौतिक प्रगति रहेको उनले जानकारी दिए ।
‘मुख्य संरचना बनिसक्यो अव रंगरोगन तथा त्यहाँसम्म जाने सडक निर्माण गर्न बाँकी छ,’ निमित्त कार्यालय प्रमुख सुवेदीले भने । योजनाको कुल लागत पाँच करोड २८ लाख रहेको छ । समयमै काम सम्पन्न नहुँदा अलपत्र बनेको उक्त भवन कहिले सम्पन्न हुने अझै अन्योल छ ।




