| बुधबार, कार्तिक २५, २०८३

घट्टेखोला र गाउँपालिकाको केन्द्र फिलिम जोड्ने झोलुङ्गे पुल जीर्ण

प्रसिद्ध मनास्लु पर्यटकीय पदमार्गमा पर्ने घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुल लामो समयदेखि जीर्ण भएको छ । दुईबर्षअघिको बाढीले क्षति पु¥याएर जीर्ण बनाएको सो पुल अहिलेसम्म मर्मतसम्भार नहुँदा स्थानीयबासी, विद्यार्थी, खाद्यान्न ढुवानी गर्ने खच्चड तथा विदेशी पर्यटकहरुलाई ओहोरदोहोर गर्न कठिनाइ भएको छ ।

सो पुल १५ बर्षभन्दा पहिले निर्माण भएको हो । चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम पुग्न प्रयोग हुने सो झोलुङ्गे पुल दैनिक दुईसयभन्दा धेरैजना तर्ने स्थानीय बलबहादुर गुरुङले जानकारी दिए । ‘विद्यार्थी, स्थानीयबासी, पर्यटक गरी दैनिक दुईसय भन्दा पनि धेरैले यो पुल तर्ने गर्छन्’, गुरुङ भन्छन्, ‘यस्तो महत्वपूर्ण पुल जीर्ण भएको लामो समय भइसक्यो । नयाँ पुल बनाउने भनेर जग खनेर राखेको पनि दुई बर्ष भइसक्यो । अहिलेसम्म बन्ने छाँटकाँटै देखिँदैन ।’ पुरानो पुल निर्माण हुँदैमा प्राविधिक त्रुटी भएको र अहिले त्यसको नतिजा भोग्नु परेको छ । उनका अनुसार अहिले बन्न लागेको पुलको पनि प्राविधिक डिजाइन स्टिमेट त्रुटीपूर्ण रहेको छ ।

सो पुल भत्किँदा गतबर्षको जेठ २० गते पुलबाट आठवटा खच्चड बूढीगण्डकीमा खसेको थियो । पाँचवटाको मृत्यू भएको र तीनवटा घाइते भएको अर्का स्थानीय गणेश कार्कीले जानकारी दिए ।

त्यसपछि गाउँलेले सो पुलको खाल्टो टाल्न भन्दै फलेक ठोकेका थिए । तर अहिले फेरि पुल कोल्टेर समस्याग्रस्त भएको छ ।
नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले सो पुल निर्माण गर्न लागेको हो । त्यसका लागि गोरखा कन्स्ट्रक्शनले ठेक्का सम्झौता गरेको थियो । तर लामो समयदेखि जग मात्र खनेर राखेको स्थानीबासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्