| बुधबार, कार्तिक २५, २०८३

लामगराको कालिजफर्ममा चितुवाको आक्रमण : ८५ कालिज मरे, कामदार घाइते

पालुङ्टार ९ लामगरास्थित गोरखा अर्गानिक एग्रो फर्ममा आइतबार राति चितुवाले आक्रमण गरेको छ । आक्रमणबाट लाखौँको क्षति भएको फर्मका सञ्चालक जीवन ढकालको भनाइ छ । रातको समयमा फर्मभित्र पसेको चितुवाले ८५ वटाभन्दा धेरै कालिज मारेको र केही कालिज घाइते बनाएको फर्म संचालक ढकालले बताए ।

भर्खर बेच्ने बेला भएको कालिजलाई चितुवाले मारेको उनले बताए । ‘राती कुन बेला चितुवा कालिज फर्मभित्र छिरेछ थाहै भएन । फर्मको साइटबाट क्याबिन जाली लगाएको थियो, माथिबाट नाइलन जाली लगाएको थियो’ उनले भने, ‘बिहान दानापानी गर्ने बेलामा यहाँ स्टाफहरु गएका रहेछन्, कालिजहरु लस्करै मरेको देखेछन् ।’

नाइलनको जाली फोडेर चितुवा भित्र पसेको उनले बताए । बिहान दाना खुवाउने बेलामा भित्र हेर्दा कहीँ पनि केही नदेखेको र बाहिर निस्कन लाग्दा फर्मभित्रको एउटा गोलो घरमा चितुवा देखेको उनले बताए ।

उक्त चितुवाले एक्कासी आक्रमण गर्दा फर्मका कामदार सिरानचोक गाउँपालिका १ केराबारीका रविलाल बस्ताकोटी घाइते भएको उनले बताए । हात र खुट्टा, आँखा भन्दा माथि भागमा चोट पुगेको बस्ताकोटीलाई उपचारका लागि एम्बुलेन्सबाट गोरखा अस्पताल ल्याएको थियो । गोरखा अस्पतालबाट थप उपचारका लागि भरतपुर अस्पताल लगिएको र सोमबार उपचार गरेर फर्किएको संचालक ढकालले बताए ।

भिडियो हेर्नका लागि यहाँ क्लिव गर्नुहोस् ।

संचालक ढकालले भने बिहान मात्र काठमाडौँबाट आएको बताए । उनका अनुसार गत जेठ महिनामा फर्ममा ६ सय २१ वटा कालिज राखिएको थियो । सात महिनापछि बल्ल बेच्न सुरु भएको बताउँदै हालसम्म ८÷१० वटा मात्र बेचेको उनले बताए । तीमध्ये एकसय जति चितुवाले मारेको, ४० भन्दा बढी घाइते बनाएको उनले बताए । केहि कालिज भने दुलोबाट उडेर गएको उनले बताए । सोमबार नै सेराको प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी, जनप्रतिनिधिहरुले घटनाको मुचुल्का उठाएको उनले बताए ।

संचालक ढकालका अनुसार प्रतिभाले कालिजलाई दुई हजार र पोथी कालिजलाइ १७ सयमा बेच्दै आएका थिए । सबै हिसाब गर्दा करिब १२ लाख जति क्षति भएको हुनसक्ने उनले बताए । कालिज एक वर्षमा एक लट मात्र उत्पादन हुने र यो उनले कालिज पालन गरेको यो दोस्रो लट भएको बताए । उनले फर्ममा कालिजसँगै लोकल कुखुरा, बँदेल, बङ्गुर, पाडा, बाख्रा, खसी, बोइलर खुकुर पाल्दै आएको बताए ।

त्यस्तै, चितुवा भने जंगलमा नै छोडिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले बताए । वन कार्यालयकाबाट घटनाका मुचुल्का उठाइसकेको र नियमअनुसार क्षतिपूर्तिको व्यवस्था हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्