
वैदेशिक रोजगारका कारण सृजित सामाजिक समस्या विषयमा अन्तरक्रिया
जिल्ला सदरमुकाममा वैदेशिक रोजगारका कारण सिर्जना हुने सामाजिक समस्या सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत आइतवार एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो ।
गोरखा नगरपालिकामा भएको कार्यक्रममा वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत सैलेन्द्र मिश्रले वैदेशिक रोजगारको बर्तमान अवस्था, चुनौती तथा अवसरहरुका बारेमा सहभागिलाई जानकारी गराएका थिए । उनका अनुसार नेपालमा सिमित रोजगारी र गरिबीका कारण प्रति वर्ष ५ लाख भन्दा बढी वैदेशिक रोजगारमा जाने गरेको बताए । साथै नेपालबाट हालसम्म श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा जानेको संख्या ७१ लाख नाघेको उनले जानकारी दिए ।
कार्यक्रममा सामी परियोजना गोरखाका कार्यक्रम अधिकृत चन्द्र देवकोटाले वैदेशिक रोजगारीमा जाने पुरुष र महिला दुवैलाई समान दृष्टिले हेर्नुपर्ने बताए । समाजमा महिलाहरु बैदेशिक रोजागरीमा जादा नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताउदै यसलाइ बदल्नु पर्ने उनको धारणा छ ।
कार्यक्रममा नगर उपप्रमुख मसलीमाया थोकरले समाजमा महिलाले गरेको कामको योगदानलाई पनि कदर गर्नुपर्ने बताए । महिलाहरु घरेलु उद्योग स्थापना गरी आर्थिक रुपमा सम्पन्न हुनुपर्नेमा उनले जोड दिइन् । वैदेशिक रोजगारमा गएका श्रीमानले पठाएको पैसालाई श्रीमतीले सही सदुपयोग गर्नुपर्ने उनले बताइन् ।
कार्यक्रमकै अवसरमा गोरखा नगरपालिकाको आयोजनामा मानव अधिकार र स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत भएको थियो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता सुरेन्द्रराज काफ्ले र अधिवक्ता रमेश अधिकारीले मानव अधिकार सम्बन्धी कानूनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै एकीकरण नेपालको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहको भूमिका सम्बन्धी अन्तरसंवाद कार्यक्रम समेत भएको बताइएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी कानूनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।




