| बुधबार, कार्तिक २५, २०८३

अवको सिजनमा मनास्लु आरोहणका लागि तीनसय एक जनाले लिए अनुमति

अवको सिजनमा गोरखाको मनास्लु हिमाल आरोहणका लागि तीन सय एक जनाले अनुमति लिएका छन् । मनास्लु सहित देशभरका बिभिन्न हिमाल आरोहणका लागि कुल एक हजार ३ सय २९ जनाले अनुमति लिएको पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जनाएको छ ।

हालसम्म ७६ देशका आरोहीले ५२ हिमाल आरोहणको अनुमति लिएको जानकारी दिदै बिभागका निर्देशक राकेश गुरुङले सबैभन्दा बढी अमादब्लम हिमाल आरोहणका लागि ४९२ जनाले अनुमति लिएको बताए । त्यसैगरी मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएको उनले जानकारी दिए । अनुमति लिनेमा एक हजार ६९ जना पुरुष र २६० जना महिला रहेका छन् ।

हिमाल आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्याण्डका ५० जना छन् । अवको सिजनमा बिभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेवापत सात करोड ६६ लाख ९३ हजार १२ रुपैयाँ राजस्व संकलन भएको बिभागले जनाएको छ ।

त्यस्तै ६ मुलुकका २२ जनाले नेपालको हिमालबाट ‘स्की’ का लागि अनुमति समेत लिएका छन् । अनुमति लिनेमा सबैभन्दा बढी फ्रान्सका नागरिक रहेको बताइएको छ । उनीहरू हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने विभागले जनाएको छ । नेपालमा हिमाल आरोहणको लागि वसन्त, शरद र हेमन्त ऋतु उपयुक्त मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्