
आज देश विचौलियाले चलाएको छ : कृष्ण पहाडी
जुनसुकै राजनीतिक दल सत्तामा भएपनि देश विचौलियले चलाएको मानव अधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले बताएका छन् । ७६ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज गोरखाद्वारा वुधवार जिल्ला सदरमुकाममा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सदभाव’ विषयक नागरिक संवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
अहिले राजनीति सेवामुखी भन्दा व्यापारमुखी भएको र विचौलियाहरुले यो देश चलाइरहेको उनले जिकिर गरे । गाउँगाउँमा भ्रष्टाचार मौलाएका कारणले पनि अहिले संघीयताको बदनाम भएको उनले बताए । कुशासन नै संघियता विरुद्धको आक्रोशको जड भएकाले संघीयतालाई दोष दिनु भन्दा अहिलेका नेतालाई हटाउनुपर्ने उनको सुझाव छ ।
नागरिकले समर्थन नगरे संसारमा कुनै पनि व्यवस्था नटिक्ने बताउदै उनले अहिलेको शासन व्यवस्थाप्रति नागरिक असन्तुष्ट रहेको धारणा व्यक्त गरे । यसले देश फेरि अराजकताको दलदलमा भासिन सक्ने भएकाले नागरिक समाज सचेत भएर अहिलेको नेतृत्वलाई खबरदारी गर्नुपर्ने उनको भनाइ छ । अहिलेको संविधानलाई पुनरावलोकन गर्न आवश्यक रहेको बताउदै उनले देशमा तोड्ने होइन जोड्ने सघीयता आउनुपर्ने जानकारी गराए ।
‘संघियता नाम मात्र आयो, स्थानीय तह र प्रदेशलाई अधिकार प्रत्यायोजन गरेको छैन,’ उनले भने, ‘अहिले पनि केन्द्रिकृत शासन व्यवस्था छ । अधिकार प्रत्यायोजन गर्न इच्छु्क नै छैनन, संघियतालाई प्रशासनिक युनिटको रुपमा मात्र हेर्नुभएको छ ।’ अहिले युवा जनशक्ति पलायनले देश खतरामा परेको उनले बताए ।
‘विदेशीहरुले नेपालको शिक्षामा कुनै लगानी गरेको छैन तर १२ पास हुने वित्तिकै भिसा दिएर आफ्नो देश लगिहाल्छ’, उनले भने । ४० लाख भन्दा बढी युवा खाडीको तातो घाममा पसिना बगाइरहेको र देशभित्रका अन्य युवाहरु पनि निरन्तर विदेश पलायन हुनु अत्यन्तै चिन्ताजनक भएको उनले बताए । यस्तै अहिलेको राजावादी आन्दोलनमा कुनै सैद्धान्तिक र नैतिक धरातल नभएकाले यसबाट डराउनु नपर्ने अभिव्यक्ति समेत उनले दिए ।
समाजकी अध्यक्ष गोमा दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व केन्द्रिय कोषाध्यक्ष स्थानेश्वर दवाडीले लोकतन्त्रको प्राणः सुशासन र सद्भाव बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।




