
लमजुङको भुजुङमा सवा १ करोडको खानेपानी योजना उद्घाटन
मंसिर २० गते । क्व्होलासोथार गाउँपालिका ४ भुजुङमा घरघरै खानेपानीका धारा निर्माण गरिएका छन् । संघीयता अघि एक गाउँ र एक गाविसले चिनिएको भुजुङ हाल एक वडा एक गाउँले चिनिन्छ ।
गाउँमा कूल ३ सय ४५ वटा धारा निर्माण गरिएसंगै मंगलबार एक कार्यक्रमको आयोजना गरी खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । गाउँका ३ सय १६ घरधुरी साथै ४ वटा सामुदायिक भवन, २ वटा विद्यालय, गुम्बा, वडा कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय र सार्वजनिक ठाउँमा एउटा धारा निर्माण गरिएका छन् । यसबाट १ हजार ९ सय ९५ जना गाउँले प्रत्यक्ष लाभान्वित भएका छन् ।
कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज नेपाल पोखराको आर्थिक सहयोग र गाउँलेको श्रमदानबाट गाउँका घरघरमै धारा निर्माण गरिएको हो ।
कूल १ करोड २६ लाख २४ हजार १ सय ७४ रुपैयाँ ७२ पैसामा निर्माण गरिएको भुजुङ थोख्ले खानेपानी योजनामा कादुरी एग्रीकल्चरल एड् एसोसिएसन पोखराको १ करोड ५ लाख ३ हजार ६ सय ७५ रुपैयाँ ७२ पैसा लगानी भएको छ । गाउँले उपभोक्ताले २१ लख २० हजार ५ सय रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।
खानेपानी योजनाको मंगलबार उद्घाटन गर्दै कादुरी एग्रीकल्चरल एड् एसोसिएसन ब्रिटिस गोर्खाज नेपालका निर्देशक रिटार्यड कर्नेल एन्ड्रु मिल्सले गाउँका घरघरै निर्माण भएको धारामा स्वच्छ खानेपानी बगेको देख्दा खुसी लागेको बताउनुभयो । कादुरीले यस क्षेत्रमा निर्माण गरेको सवैभन्दा ठूलो योजना नै भुजुङको थोख्ले खानेपानी योजना रहेको र यसलाई गाउँलेले भरपुर सदपयोग गर्नेमा आफू आशाबादी रहेको उहाँले बताउनुभयो । गाउँको कला र संस्कृति साथै गाउँलेको स्वागतले आफू निकै प्रफुल्लित भएको उहाँले बताउनुभयो ।
क्व्होलासोथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले पछिल्लो समय विकास गाउँगाउँमा आएको भन्दै विकासमा सवैको एकमत र सवै एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
कादुरीको सहयोगप्रति कृतज्ञ व्यक्त गर्दै उहाँले खानेपानीबाट भुजुङका वासिन्दामात्रै नभइ अस्थायी रुपमा भुजुङ बस्ने कर्मचारी र भुजुङ आउने पर्यटकलाई समेत फाइदा पुग्ने बताउनुभयो । कार्यक्रममा कादुरीका प्रबन्धक मनबहादुर थापाले भुजुङमा निर्माण भएको खानेपानी आयोजनाबारे विस्तुत जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कादुरीका प्राविधिक निर्देशक डा. नारायण गुरुङ, खानेपानी विभाग प्रमुख ईन्जिनियर वीपिनदीप दर्लामी, सिनियर प्रोजेक्ट म्यानेजर ईन्जिनियर मिश्रकुमार चौधरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ता, वडाअध्यक्ष नारायण गुरुङ, गोरखा वेलफेर ट्रष्ट पोखराका प्रोजेक्ट सर्भेयर डिजाइनर रामचन्द्र गुरुङ, गजेन्द्र गुरुङलगायतको उपस्थिति थियो ।
उक्त अवसरमा खानेपानीको ट्यांकी निर्माणका लागि आवश्यक जग्गादाताहरु पुनरी गुरुङ, खिमबहादुर गुरुङ, नन्दबहादुर गुरुङ, प्रेमकाशी गुरुङ र हस्तबहादुर गुरुङलाई कादुरी एग्रीकल्चरल एड् एसोसिएसन ब्रिटिस गोर्खाज नेपालका निर्देशक रिटार्यड कर्नेल एन्ड्रु मिल्स र प्राविधिक निर्देशक डा. नारायण गुरुङले सम्मान पत्रद्धारा सम्मान गर्नुभएको थियो । कादुरीलाई खानेपानी उपभोक्ता समितिको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो ।
भुजुङ थोख्ले खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष डीलबहादुर गुरुङको अध्यक्षतामा भएको खानेपानी योजना उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य योजनाका निवेदक क्याप्टेन मिलबहादुर गुरुङले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव बोदबहादुर गुरुङले गर्नुभएको थियो ।
गाउँमा यसअघि पनि खानेपानीको धाराहरु रहेकोमा पुरानो भएपछि पुग्दो मात्रामा पानी नआउने समस्याले नयाँ आयोजना निर्माण गरिएको हो । कादुरीको सहयोगमा थोंख्ले मुलबाट पाइपमार्फत ल्याइएको खानेपानीलाई घरघरै धारा निर्माण गरेर उपभोक्तामाझ पु¥याएको उपभोक्ता समितिले जनाएको छ ।
वडाध्यक्ष नारायाण गुरुङले पुरानो धारामा खानेपानी नबग्दा नागरिकलाई पानीको दुःख भएको र हाल घरघरमै पानी आउँदा गाउँले दैनिकीलाई सहज बनाएको बताउनुभयो । यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा गाउँमा खानेपानी धाराको निर्माण गरिएको थियो । नयाँ खानेपानी योजनाले विद्यार्थी, गृहिणी साथै गाउँमा आउने पाहुनालाई सहज भएको स्थानीयले बताएका छन् ।




