| बुधबार, कार्तिक २५, २०८३

सामागाउँ र स्यालाबासीका लागि जग्गाको निस्सा दिने तयारी

तीसौँ बर्षदेखि सार्वजनिक जग्गामा बसिरहेका चुमनुब्री गाउँपालिका १ र २ का बासिन्दाका लागि भूमि आयोगले जग्गाको निस्सा दिने तयारी गरेको छ । वडा नं। १ सामागाउँ र वडा नं. २ स्यालाका अव्यवस्थित बसोबासीका लागि निस्सा दिने तयारी भइरहेको गाउँपालिकाका प्रमुख निमा लामाले जानकारी दिए ।


‘सामागाउँ र ल्होमा जहिले जाँदा पनि हामीलाई अरु विकास निर्माणको काम भन्दा पनि बसोबास गरेको र गरिखाने जग्गाको लालपूर्जा महत्वपूर्ण छ भन्छन्’, गाउँपालिकाका अध्यक्ष लामाले भने, ‘त्यसैले मैले धेरै दौडधुप गरी निस्सा बाँड्ने काम अन्तिम चरणमा पुगेको छ ।’ अनलाइनबाट लगत प्रविष्टी९डाटा इन्ट्री० गरिसकेको र माथिल्लो निकायले भनेअनुसार गत मंसीर १३ गतेको बैठकले सेवाकेन्द्र प्रमुख तोकेको उनले बताए ।

गाउँपालिका प्रमुख लामाले सोमबार पनि भूमि आयोगका अध्यक्ष केशव निरौलालगायत उपाध्यक्ष, महासचिवहरुसंग भेटेर त्यहाँको समस्याप्रति ध्यानाकर्षण गराएका थिए ।

‘संरक्षण क्षेत्र भएकाले अरु क्षेत्रमा भन्दा यहाँ काम गर्न कठिन हुने भएकाले यस सम्बन्धी ऐन संशोधन गरेर काम गर्न प्रधानमन्त्री कार्यालयमा प्रस्तावना पेश गरेका छौँ’, उनले भने, ‘संसदले पास गरेपछि त्यहाँको काम गर्न सहज हुन्छ, अनि काम फटाफट हुन्छ ।’ काम प्रक्रियामा गइकेकाले धमाधम अघि बढिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्