| बुधबार, कार्तिक २५, २०८३

क्वार्ज क्रिष्टल छ महिनादेखि प्रहरी कार्यालयमै थन्कियो : गोरखा दरवारमा कि संग्रहालयमा राख्ने भन्ने बिषयमा अझै अन्योल

जिल्ला प्रहरी कार्यालयभित्र रहेको बहुमूल्य पत्थर(क्वार्ज क्रिष्टल) गोरखा दरवारमा राख्न भनी मन्त्रीपरिषदले गरेको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन । गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको ५४ किलोग्रामको सो बहुमूल्य पत्थर दरबारमै राख्न भनी मन्त्रीपरिषदले गत साउन ३० गते निर्णय गरेको थियो । तर गोरखा दरवारमा राख्ने वा गोरखा संग्रहालयमा भन्ने बिषयमा प्रष्ट निर्देशन नआउँदा अन्योल भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

‘दरवारमा राख्ने भन्ने त भयो, तर माथिल्लो दरवारमा राख्ने की तल्लो दरवार भन्ने एकीन गरेर आएको छैन, त्यसैले हामी पनि अन्योलमा छौँ,’ उनले भने ।

यस बिषयमा केही दिनअघि गृहमन्त्रालयले आफूसँग राय सल्लाह समेत मागेको उनले जानकारी दिए । उनले भने, ‘तल दरवार राख्दा ठिक कि माथि दरवार भनेर गृहबाट मलाई सोध्नुभएको थियो, मैले गोरखा संग्रहालयमा राख्यो भने नयाँ पुस्तालाई अध्ययन अनुसन्धानका लागि सहयोग पुग्छ, राख्नका लागि छुट्टै कोठा पनि छ, तर धार्मिक हिसावले पूजापाठका लागि हो भने माथिल्लो दरवारमा राख्न उपयुक्त हुन्छ किनकि तल पूजा गर्न मिल्दैन भनेर सुझाव दिएको थिएँ ।’ कृष्टल कहाँ राख्ने भन्ने बारे माथिबाट प्रष्ट निर्देशन आए लगतै तोकिएको स्थानमा लगेर राखिने उनले जानकारी दिए ।

यता ढुंगा राख्ने स्थानबारे निर्णय गर्न सम्बन्धित निकायमा आफूले सक्दो पहल गरिरहेको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए ।

‘ढुंगाको बिषयमा बुझ्न आज म आफै खानी तथा भूगर्भ बिभाग गएँ, तर पत्र नआएकाले ढिला भएको भन्नुभयो । त्यहीँबाट गृहमन्त्रीलाई फोन पनि गरेँ, अब छिट्टै हुन्छ भनेर आश्वासन दिनुभएको छ,’ उनले भने । गोरखा दरवारमा राख्ने मन्त्रीपरिषदबाट निर्णय भएपनि कुन दरबारमा भन्ने बिषयमा बहस भइरहेको उनले जानकारी दिए । उक्त ढुंगा कहाँ राख्दा उपयुक्त भन्ने बिषयमा सबैसँग राय सुझाव लिएर त्यही अनुसार माथिल्लो निकायलाई सुझाव दिने उनको भनाइ छ ।

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म ढुंगा कहाँ राख्ने भन्ने टुंगो नलागेको कुरामा आश्चर्य प्रकट गरे । आश्चर्य मान्दै उनले भने, ‘करिव दुई महिनाअघि उद्योग मन्त्रालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रतिनिधि भएर म गएको थिएँ । त्यहीबेला ढुंगा कहाँ राख्दा उपयुक्त हुन्छ रिपोर्ट माग्ने त्यही आधारमा निर्णय गर्ने भन्ने थियो, अहिलेसम्म निर्णय भएको रहेनछ,’ उनले भने । यसबारे आफूले थप फलोअप गर्ने उनले बताए ।

उक्त ढुंगा अहिले जिल्ला प्रहरी कार्यालयभित्र सुरक्षित तवरले राखिएको छ । गोरखा दरवारमा राख्ने की संग्रहालय भन्ने प्रष्ट निर्देशन नआएकै कारण ढुंगा प्रहरी कार्यालयभित्रै थन्क्याएर राखिएको हो । गत असार १४ गते विहान प्रहरीले शाहीको घरबाट उक्त ढुंगा बरामद गरेको थियो ।

लाखौ रकममा उक्त ढुंगा किनबेच हुन लागेको सूचना पाएसँगै उक्त ढुंगा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले बताउँदै आएको छ । बरामद भएको दिनदेखि नै प्रहरी कार्यालयमा रहेको उक्त ढुंगा हालसम्म पनि सोही स्थानमै छ । उक्त ढुंगा दर्शनका लागि भन्दै प्रहरी कार्यालय धाउनेको संख्या पनि बढी नै छ भने जिल्ला आएको अवसर पारेर भिआइपीहरुले पनि ढुंगाको निरिक्षण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्