
सरकारी निकायका नागरिक बडापत्र अपाङ्गमैत्री हुनुपर्ने माग
सरकारी कार्यालयमा अपाङ्गमैत्री नागरिक बडापत्र राख्न एक कार्यक्रमका सहभागीहरुले माग गरेका छन् । आइतवार जिल्ला सदरमुकाममा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उक्त माग गरेका हुन् ।
अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ मा भएका कानूनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए । अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारी सेवासुविधा लिन झन्झट भएको बताउदै उनले ती कार्यालयको संरचना र नागरिक वडापत्र अपाङ्गमैत्री हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाले राज्यले हरेक स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरुलाई छुट्टै केन्द्र स्थापना गरी सोहि केन्द्रबाट आवश्यक पर्ने सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा राय व्यक्त गरे ।
कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्नुपर्ने बताइन् । नगरपालिकाले हालसम्म क वर्गका १५४, ख वर्गका २५६, ग वर्गका १७१ र घ वर्गका ७० वटा अपाङ्गता परिचय पत्र वितरण गरिसकेको उनले जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्यले स्पष्ट कानूनको व्यवस्था गरेको बताए । प्रशासनसम्म आउन नसक्ने अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर नागरिकता वितरण गरिरहेको र हालसम्म आठ जनालाई उक्त सेवा दिइएको उनले जानकारी दिए । आगामि दिनमा हरेक सरकारी निकायको वार्षिक कार्यक्रममा अपाङ्गताका अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु समेटनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको शान्ति सुरक्षाका लागि प्रहरी सधै तत्पर रहेको बताए । साथै अपाङ्गतासँग सम्बन्धीत मुद्दाहरुमा प्रहरी संवेदनशील भएर लाग्ने पनि उनले जानकारी गराए ।
जिल्ला न्यायधिवक्ता सुरेन्द्रराज काफ्लेले अपाङ्गता भएका व्यक्तिहरु घरभित्र र बाहिर दुवै ठाउँमा लैङ्गिक हिंसाका शिकार हुनुपरेको बताउँदै यसको न्यूनीकरण गर्न तर्फ सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा अधिकाश वक्ताहरुले हरेक भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्ने, उनीहरुलाई स्वास्थ्य, शिक्षा लगायतका मौलिक अधिकारबाट बन्चित गराउन नहुने बताएका थिए । सामाजिक विकास कार्यालय र गोरखा नेत्रहीन संघको संयुक्त आयोजना तथा गोरखा नगरपालिका, नेपाल नेत्रहीन संघ पुनस्र्थापना कार्यक्रमको सहयोगमा उक्त कार्यक्रम भएको हो । कार्यक्रमको अवसर पारेर अपाङ्गता भएका व्यक्तिहरुलाई तीन वटा बैशाखी र एउटा ह्वील चियर समेत वितरण गरिएको थियो ।




