
रोजगारी दिनका लागि भीमसेनथापामा श्रमवैँक स्थापना
सीप भएका जनशक्तिलाई रोजगारी दिने उद्देश्यका साथ भीमसेनथापा गाउँपालिकाले श्रमवैँक स्थापना गरेको छ । विभिन्न काम गर्ने सीप, दक्षता, योग्यता भएका जनशक्तिलाई आवश्यक परेका बेला सरकारी तथा गैरसरकारी संस्थामा रोजगारी दिनका लागि श्रमवैँक स्थापना गरिएको गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जराले जानकारी दिए ।
‘कसैसित सीप छ, योग्यता, दक्षता छ, तर रोजगारी पाउनु भएको छैन भने उहाँहरुले गाउँपालिकाको रोजगार शाखामा आफ्ना विस्तृत विवरणसहित सूचीकृत गराउनु हुनेछ । यदि पालिकाभित्र सरकारी तथा गैरसरकारी संस्थालाई कुनै खालको जनशक्ति चाहियो भने त्यही श्रमवैँकमा सम्पर्क राखेर छनौट प्रक्रियामार्फत जनशक्ति लान सक्नेछन्’, गाउँपालिकाका प्रमुख बञ्जराले भने, ‘दक्ष जनशक्तिलाई रोजगारी दिने र सीप नभएकाहरुलाई पनि इच्छाएअनुसारको तालिम दिएर दक्ष जनशक्ति बनाउने हाम्रो अवधारणा हो ।’ यसबिषयमा गाउँपालिकाले एकबर्षअघिदेखि बहश सुरु गरेको थियो । यसबर्षदेखि विधिवत रुपमा श्रमवैँक स्थापना गर्ने प्रक्रिया सुरु गरिएको उनले बताए ।
सकेसम्म रोजगारी दिने, नसके बेरोजगारी भत्ता दिनेसम्मको अवधारणा पालिकासंग रहेको उनले बताए । ‘प्लम्बिङ, वायरिङ, वेल्डिङ, सिकर्मी, डकर्मी, सिलाइकटाइ, बुनाइजस्ता सीप भएका जनशक्ति पनि हुनसक्छन् । शिक्षा पढेका, अहेब, अनमि, स्टाफ नर्स, इञ्जिनियर, डाक्टरी पढेर बेरोजगारी भइरहेका जनशक्ति पनि हुनसक्छन् । उनीहरुको विस्तृत विवरण राख्ने र भ्याकेन्सी खुलेका बेला श्रमवैँकमा रहेकाहरुलाई परिचालन गर्न सकिन्छ ।’
बिगत बर्षदेखि अवधारणा अघि बढाए पनि चासो र चर्चा कम पाएको पालिका अध्यक्ष बञ्जराले बताएका छन् । ‘एकबर्ष अघिको अवधारणा हो, तर यो अवधारणाप्रति कसैको चासो देखिएको छैन’, अध्यक्ष बञ्जराले भने, ‘अब विधिवत रुपमा गर्न सुरु गरिएको छ । हेरुँ कसरी अगाडि बढ्नेछ ।’
गाउँपालिकाले श्रमवैँक स्थापना गर्ने भएकाले त्यसमा आवद्ध हुन मंगलबार सार्वजनिक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले जानकारी दिए ।
‘श्रम वैँक सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाइएको छ । त्यसभित्र श्रमवैँकको अवधारणा, यसको महत्व र कार्य गर्ने निर्देशिकाहरु प्रष्टसंग खुलाइएको छ’, उनले भने, ‘पहिलोबर्ष भएकाले श्रमवैँक व्यवस्थापन गर्नका लागि पाँचलाख रुपैयाँ विनियोजन समेत गरिएको छ ।’ सो बजेट व्यवस्थापकीय कामममा खर्च गरिने र सोही बजेट बराबरको रोजगारी सिर्जना गरी काम दिने अवधारणा पालिकाको रहेको उनले बताए ।
गाउँपालिका कार्यालयका रोजगार संयोजकलाई नै सम्पर्क व्यक्ति तोकेर काम अघि बढाएको पालिकाले जनाएको छ ।




