| बुधबार, कार्तिक २५, २०८३

क्वारेन्टाइन समस्या हल गरिदिन चीनसँग च्याम्बर गोरखाको आग्रह

चीनको भ्रमणमा रहेको गोरखा चेम्बर अफ कमर्सको डेलिगेसनले नेपाल–चीन क्वारेन्टाइन समस्या समाधान गरिदिन आग्रह गरेको छ ।

सोमबार यिवुमा चिनियाँ अधिकारीहरूसँगको बैठकमा गोरखा च्याम्बरका प्रतिनिधिहरुले नेपाली उत्पादनहरू चीनमा भित्र्याउने क्रममा क्वारेन्टाइन मापदण्ड बाधक हुने गरेकाले भविष्यमा तातोपानी वा केरूङ व्यापारिक नाकामा क्वारेन्टाइनको व्यवस्थापन गरिदिन माग गरेको हो ।

नेपाली उत्पादन चीन निर्यात गर्दा जहिल्यै क्वारेन्टाइन सिस्टमबारे पर्याप्त जानकारीको अभाव हुने गरेको पाइयो । यिवु–नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष विष्णुप्रसाद दुमरूले नेपाली पक्षको ध्यानाकर्षणबारे जानकारी दिँदै भने, ‘चीनलाई कुन तरीकाको क्वारेन्टाइन चाहिने हो । नेपाल–चीन व्यापारिक नाकामा त्यस्तो प्रणाली स्थापना गर्नेतर्फ ध्यान दिन आग्रह गरेको छ ।’

क्वारेन्टाइन प्रणाली राख्नेबारे चिनियाँ पक्षले सकारात्मक जनाउ दिएको छ । तर सरकारी तवरबाट सरसल्लाह गरेर गर्न सकिने कुराहरू गर्दै जाने मौखिक प्रतिवद्धता मात्रै जनाएको भ्रमणमा सहभागी गोरखा च्याम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए ।

चीनको ११ दिने भ्रमणमा रहेको चेम्बरको टोलीले ४ दिनसम्म यिवुमा रहेर नेपाल–चीन व्यापारिक सम्भाव्यताबारे अध्ययन गरेको हो । गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले चिनियाँ पक्षसँग संयुक्त रुपमा व्यापारिक जगमा काम गर्न इच्छुक रहेको जानकारी दिए ।

नेपालको उत्पादन आयात गर्न चीन तत्पर रहेको भन्दै चिनियाँ अधिकारीहरुले आगामी मध्य डिसेम्बरमा नेपालको पर्यटन, होटल, कृषिलगायत क्षेत्रमा लगानी वा उत्पादन आयातका लागि टोली खटाउने आश्वासन दिएको छ । सन् २०२० मा नेपालले पर्यटन प्रवर्द्धनको तयारी गरेको थियो तर कोभिड – १९ महामारीका कारण स्थगित भएको थियो । यो भ्रमण टोली नेपाल फर्केपछि महामारीपछिको पहिलो यिवु टोली हुने दुमरूको दाबी छ ।

डिसेम्बर १ तारिख हाङ्चौमा हुने पाँचौ ट्रान्सपोर्टेसन एक्स्पोमा सहभागी भएपछि डेलिगेसन नेपाल फर्किने कार्यक्रम छ । यसअघि नोभेम्बर तेश्रो साता हाङ्चौ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजित दोश्रो ग्लोबल डिजिटल ट्रेड एक्स्पोमा यो चेम्बर टोली सहभागी भएको थियो ।

यिवु अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एमीका अनुसार बर्सेनि साढे ५ लाखभन्दा बढी व्यापारी र पर्यटकले भ्रमण गर्ने यिवुले व्यापारिक क्षेत्र तथा विदेशी नागरिकलाई परेका समस्या समाधान गर्न सहयोग गर्ने आश्वासन दिए ।
नेपाल महिला चेम्बर अफ कमर्स गोरखाकी अध्यक्ष ज्ञानु अधिकारी अर्यालले नेपालको महिला व्यापारिक क्षेत्रले सिकाइ तथा प्रशिक्षणको अपेक्षा गरेको बताइन् । यिवु ब्युरो अफ कमर्सका प्रतिनिधिहरू, बीआरआईसँग सम्बन्धित अधिकारीहरूलगायतले नेपाली प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्