
गोरखाका नेवार समुदायले जूनमा मकै सुकाएर ‘सकिमना पर्व’ मनाए
नेवारी समुदायको सांस्कृतिक पर्व मकै सुकाउने पर्व(सकिमना) सोमबार राती विभिन्न कार्यक्रम गरी मनाइएको छ । लोप भइसकेको सो पर्व स्थानीय ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अग्रसरतामा सोमबार साँझ मनाइएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।
कात्तिक शुल्क पूर्णिमाको रात अमृत बर्षा हुने र भुटेको मकै, भटमास, बदाम, उसिनेको पिँडालु, सखरखण्ड लगायतका खाद्य पदार्थ जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ सकिमना पुन्हिः पर्व मनाइएको उनले बताए ।

श्रेष्ठका अनुसार यो पर्व बिगत ४५ बर्ष अघिदेखि गोरखामा मनाउन छाडिएको थियो । लामो समयसम्म रोकिएको सो पर्व बिगत दुईबर्षदेखि मनाउन थालिएको हो । ‘४० बर्षदेखि मनाउन छाडिएको पर्व अहिले व्युँताइएको हो’, उनले भने, ‘२०७६ साल, २०७८ साल र अहिले मनाइएको हो । अब यसलाई निरन्तरता दिने हाम्रो प्रयास हुनेछ ।’
घरघरबाट भुटेको मकै एकै ठाउँमा जम्मा गरेर सदरमुकामको ठुलो आँगनमा मान्द्रो बिछ्याएर जूनको प्रकाश पर्ने गरी सुकाइएको थियो ।

‘कात्तिक शुल्क पूर्णिमाको दिन अमृत वर्षा हुन्छ भन्ने धार्मिक मान्यता छ’, स्थानीय मोहनलाल श्रेष्ठले भने ‘यसरी सुकाएको अन्नमा चन्द्रमाबाट अमृत वर्षा हुने र यी अन्न प्रसादको रुपमा प्रयोग गरिन्छ ।’
भुटेको मकैसँगै भटमास, केराउ, चना, लगायतका गेडागुडी, जुनेलो, बदाम, सखरखण्ड, लगायत बिभिन्न फलफुल पनि सँगै राखिन्छ । सुकाएका यी खानेकुरा प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ । कतिपयले भने घरमा रहेको अन्नमा समेत मिसाउँछन् । घरमा भएका यी खानेकुरा पनि अमृत समान हुन्छ भन्ने विश्वास छ ।

मकै सुकाउन सबैले घरघरबाट ल्याउनुपर्छ भन्ने अनिवार्य छैन । तर नेवार समुदायले यस पर्वलाई महत्वका साथ लिने भएकाले ठूलोआँगन क्षेत्रका अधिकांशले लगेका थिए । कतिपयले भने घरैमा पनि यो पर्व मनाउने गर्छन् ।
लामो समयपछि २०७६ सालमा ठुलो आगनमा मकै सुकाउने पर्व मनाइएको थियो । २०७७ मा कोरोनाको कारण यो पर्व नेवार समुदायले सामुहिक रुपमा मनाएनन् । त्यसपछि फेरि २०७८ मा मनायएको थियो । ‘अहिले हामीले सामुहिक रुपमा आह्वान गरेर मनाएका हौँ’, ऐतिहासिक क्षेत्र संरक्षण बिकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले भने । समितिको अगुवाईमा बाजागाजासहित बिभिन्न धार्मिक परम्परा झल्कने गरी यस पटक मकै सुकाइएको थियो । भजन, पञ्चेबाजा, धिमे बाजाको साथमा ठूलो आँगनमा सोमवार मकै सुकाइएको हो ।




