
गोरखामा राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने
गोरखामा दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका साँस्कृतिक कार्यक्रम राति नौ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका साँस्कृतिक क्रियाकलापहरु बिहान ७ बजेदेखि बेलुका नौ बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको हो ।
पटका, अतिसबाजी जस्ता विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवम् सर्वसाधरणलाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवम् झै–झगडा गर्ने जस्ता कार्य नगर्नु र भिडभाड तथा हुलहुज्जत जस्ता गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलाप नगराउन समेत आग्रह गरिएको छ ।
त्यस्तै, अखाद्य रंग मिलाईएका मिठाई, झिलाङ्गे रोटी जस्ता अस्वस्थ्य र गुणस्तरहीन खाद्य वस्तुहरुको विक्री वितरण र उपभोग नगर्नु नगराउन र म्याद गुज्रेका भाईमसला, प्लास्टिकजन्य फूलमालाको प्रयोग र विक्री वितरण नगर्न पनि अनुरोध गरिएको छ । प्रशासनले जारी गरेको सूचना उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।




