| बुधबार, कार्तिक २५, २०८३

ऐन, कानूनको धज्जी उँडाउँदै जिल्लाभर रातो नंबरप्लेटका गाडीले भाडामा यात्रु बोक्दै

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद २ मा सवारीसाधनको वर्गीकरण गरिएको छ । परिच्छेद २ को दफा ६ मा सार्वजनिक सवारी साधनको बारेमा उल्लेख छ । भनिएको छ, ‘भाडा लिएर यात्रु बोक्न तथा सामान ढुवानी सेवा दिने उद्देश्यले प्रयोग गरिने सवारी साधनलाई सार्वजनिक सवारी साधन भनिनेछ ।’

ऐनको दफा ८ मा निजी सवारीको बारेमा व्याख्या गरेको छ । भनिएको छ, ‘नीजि प्रयोगका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारी साधनलाई नीजि सवारी साधन भनिनेछ । नीजि सवारी साधन यात्रु सेवाको लागि प्रयोग गर्न पाइने छैन ।’

ऐनको अनुसूची २ मा सवारी साधनको नंबरप्लेटको बारेमा पनि उल्लेख छ । त्यसको भाग १, खण्ड क मा सार्वजनिक सवारी साधनमा कालोप्लेटमा सेतो अंक र अक्षर रहेको हुनुपर्ने उल्लेख छ । यदि इम्बोस्ड सवारी नंबरप्लेट हो भने पहेँलो प्लेटमा कालो अंक र अक्षर अंकित हुनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै भाग १ खण्ड ग मा नीजि सवारी साधनको नंबर प्लेटको बारेमा व्याख्या गरिएको छ । त्यसमा भनिएको छ, नीजि सवारी साधनमा रातो प्लेटमा सेतो अंक र अक्षरमा लेखिएको हुनुपर्ने छ । यदि इम्बोस्ड नंबर प्लेट हो भने नीजि सवारी साधनमा सेतो प्लेटमा कालो अंक र अक्षर लेख्नुपर्ने उल्लेख छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा सवारी साधन र तिनको स्पष्ट बर्गीकरण गरिएको भएपनि गोरखामा ऐन, नियम र कानूनको धज्जी उँडाउने गरिएको छ । ऐनको दफा ८ मा नीजि सवारी साधन यात्रु सेवाको लागि प्रयोग गर्न पाइने छैन भनेर किटान गरेको भए पनि गोरखाका बिभिन्न ग्रामीण रुटहरुमा निर्बाध रुपमा नीजि सवारी साधन(विशेषगरी बोलेरो जीप)ले भाडामा यात्रु बोक्ने गरेका छन् ।

प्राप्त जानकारीअनुसार गोरखाको सिउरेनीटार, फुजेल, ढाबे, दर्बुङ, घाटवेशी सडकमा करिब १० भन्दा बढि नीजि जीपले आफुखुशी भाडा असुलेर यात्रु ओसार्ने गरेका छन् ।

नाम्जुङ, फुजेल, ताङ्लिचोक, मकैसिङ, घैरुङ रुटमा आठवटा रातोप्लेटको जीपले भाडामा यात्रु तथा सामान बोक्ने गरेका छन् । त्यस्तै बाह्रकिलोबाट भच्चेक, सौरपानी, बारपाक, ताकुकोट क्षेत्रमा करिब २५ वटा नीजि जीपले भाडामा यात्रु तथा सामान ओसार्ने गरिरहेका छन् ।

भच्चेकबाट अपुन तथा बालुवाबाट घ्याच्चोक रुटमा पनि रातोप्लेटको जीपले यात्रु र सामान ओसार्ने गरेका छन् । त्यसैगरी मिरकोट, खोप्लाङबाट गोरखा, १० किलोबाट बक्राङ, मनकामना रुट तथा मझुवा, मनकामन रुट तथा माछाखोला सोती र सोती, माछाखोला सडकमा पनि ठूलो संख्यामा नीजि जीपले भाडा लिएर यात्रु र सामान ओसार्ने गरेका गोरखा दरौँदी यातायात सेवा प्रालिले जनाएको छ ।

‘माछाखोलाबाट विभिन्न ठाउँका लागि ६० वटा मोटरसाइलले पठाओले झैँ भाडा लिएर सेवा दिइरहेका छन्’, प्रालिका सञ्चालक समिति सदस्य अञ्जन खत्री भन्छन्, ‘फिस्लिङ पुलबाट गोरखाका विभिन्न ठाउँका लागि भाडामा सेवा दिन मोटरसाइकलवालाले साइनबोर्ड राखेरै भाडामा यात्रु र सामान बोकिरहेका छन् ।’ राज्यले जारी गरेको नियम कानूनको धज्जी उँडाउँदा पनि नियमन गर्ने निकाय मौन बसेको भन्दै उनले दुख व्यक्त गरेका छन् ।

नीजि र भाडाका सवारी साधन सञ्चालनको उद्देश्य नै फरक भएकाले यातायात विभागले दर्ता गर्ने, नवीकरण गर्ने, सञ्चालन गर्ने तथा राजस्व लिने व्यवस्था नै अलग अलग रुपमा गरेको छ ।

नीजि सवारी साधन दर्ता गर्न एउटा मात्र सवारी साधन भए पनि पुग्छ । तर सार्वजनिक सवारी साधन कम्पनीमा दर्ता हुनुपर्छ, कम्पनीमा दर्ता गर्न एउटा मात्र साधन भएर नहुने बाध्यात्मक व्यबस्था छ ।

कम्पनी दर्ता गर्दा राजस्व बढि तिर्नुपर्छ । सवारी जाँचपास शुल्क, सडक अनुमति पत्रको शुल्क, अनुमति लिएको क्षेत्रभन्दा बाहिर जानु परे पटके शुल्क तिर्नुपर्ने बाध्यात्मक अबस्था पनि छ । तर नीजि सवारी साधनको नेपालभरि रुटपर्मिट हुन्छ । यो सुविधाको दुरुपयोग गरी नीजि नंबरप्लेटका जीपहरुले भाडामा यात्रु ओसार्ने गरेका छन् ।

सार्वजनिक सवारी साधन जिल्ला स्तरको भाडा निर्धारण समितिले निर्धारण गरेको भाडा लिएर सञ्चालन गर्नुपर्ने हुन्छ तर निजी सवारी साधनले मनलाग्दी भाडा असुल गर्दै यात्रु लाई ठगेका छन । ‘यी सब कुराका बारेमा प्रहरी प्रशासन जानकार छ, तर मौन छ’, गोरखा दरौंदी यातायात सेवा प्रालिका अञ्जन खत्री भन्छन्, ‘थाहा नपाएको भए थाहा दिने हो, थाहा पाएर पनि नपाएजस्तो गर्नेलाई केही भन्न सकिन्न ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने रातोप्लेटका सवारी साधनले भाडामा यात्रु ओसारेको देख्ने वित्तिकै कारबाही गरेको जनाएको छ । ‘रातोप्लेटका सवारी साधनले भाडामा यात्रु ओसार्न पाउँदैन ।

त्यस्तो देख्ने वित्तिकै हामीले कारबाही गरिहाल्छौँ, गरेका पनि छौँ, अझै गरिरहनेछौँ’, कार्यालय प्रमुख वेदनाथ भण्डारीले भन्छन्, ‘गत साउदेखि यता भाडामा यात्रु ओसार्ने १७९ वटा रातोप्लेटका गाडीलाई जरिबाना गरिसकेका छौँ । त्यसबाट दुईलाख २६ हजार राजस्व संकलन भएको छ । दोहोरिएर फेला पारेमा यातायात व्यवस्था कार्यालय पनि पठाउने गरेका छौँ ।’ आफूहरुले देखेभर कारबाही गरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्