| बुधबार, कार्तिक २५, २०८३

पुस १९ बाट चेम्वरको कृषि, पर्यटन तथा व्यापार मेला

गोरखा चेम्वर अफ कमर्सले पुस १९ गतेबाट कृषि, पर्यटन तथा व्यापार मेला गर्ने भएको छ । वुधवार पत्रकार सम्मेलन गर्दै चेम्वरले मेलाको बारेमा जानकारी गराएको हो ।

जिल्लामा उत्पादित कृषिजन्य उपज तथा घरेलु उद्योगबाट स्थानीय स्तरमा उत्पादित औद्योगिक उपजको प्रवद्र्धन गर्ने उदेश्यका साथ मेला गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए ।

संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यसमेत रहेको उनले जानकारी दिए । बिगतको भन्दा अहिलेको मेलामा केही फरकपना ल्याउने योजना रहेको उनको भनाइ छ । ‘मेला स्थलभित्रै आदिवासी जनजाति संग्रहालय र बिभिन्न जातजातिका खानाका परिकारहरु राख्ने योजना छ,’ श्रेष्ठले भने, ‘एक पालिका एक कोसेली घर भनेर प्रत्येक स्थानीय तहबाट सो क्षेत्रमा उत्पादन हुने कृषि उपज र हस्तकलाका सामाग्रीहरु पनि राख्ने भनेका छौँ ।’ यसका लागी स्थानीय तहहरुसँग आवश्यक समन्वय भइरहेको उनले बताए ।

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा हुने मेलामा करिव एकसय ३० वटा स्टल रहने आयोजकले जनाएको छ । कृषि तथा हस्तकलाका सामग्रीहरुलाई बिशेष प्राथमिकता दिइने बताइएको छ । मेलामा माध्यामिक बिद्यालय तह स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत हुने चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मेलामा करिव ६ करोडभन्दा बढीको कारोवार हुने अनुमान गरिएको छ । ५० हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ । मेला गर्न करिव ७३ लाख लाग्ने बताइएको छ । मेला स्थल प्रवेशका लागि आयोजकले एकसय टिकट शुल्क तोकेको छ । अपाङ्गता भएका र जेष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट दिइने बताइएको छ । मेला संचालनका लागि स्थानीय तह र प्रशासनबाट अनुमति समेत लिइसकिएको चेम्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्