| बुधबार, कार्तिक २५, २०८३

बारपाकमा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारीको भूमिका बिषयक अभिमुखिकरण कार्यक्रम शुरु

बारपाकमा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारीको भूमिका बिषयक अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठान र बारपाक सुलिकोट गाउँपालिकाको संयुक्त आयोजनामा सोमवारबाट कार्यक्रम शुरु भएको हो । तालिमको सोमवार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले उद्घाटन गरेका छन् ।

द्घाटन कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधिहरू जबाफदेही हुनुपर्ने तथा कर्मचारी र जनप्रतिनिधिको सुमधुर सम्बन्धबाट नै विकास सम्भव हुने बताए ।

स्थानीय सरकारले जनताका समस्या र चाहनालाई राम्रोसँग बुझ्न सक्ने भएकाले यो सरकार जनताको सरकार भएको अनुभूति हुने गरेको उनको भनाइ छ । कतिपय जनप्रतिनिधिहरुमा आफ्नो जिम्मेवारी, काम, कर्तव्य र अधिकारको बारेमा ज्ञान नहुँदा काममा समस्या हुने गरेकाले यस प्रकारका तालिम र कार्यक्रमले समस्याको हल गर्ने उनले जानकारी दिए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका उपनिर्देशक हरिकृष्ण कोइरालाले जनप्रतिनिधि र कर्मचारीका काम, कर्तव्य र अधिकारबारे प्रष्ट पार्न कार्यक्रम आयोजना गरिएको बताए ।

उनले कार्यक्रमबाट सिकेका सीप र ज्ञानलाई आफ्नो तहमा लागु गरी जनतामा सुशासन र विकासको प्रत्याभूति गराउन सबैलाई आग्रह गरे । गाउँपालिका अध्यक्ष विष्णु भट्टले अभिमुखिकरण पश्चात पालिकामा काम गर्न जनप्रतिनिधि र कर्मचारीहरूलाई सहज हुने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले गर्नुहुने र नहुने कामहरूको बारे सचेत भएर काम गर्न सबैमा आग्रह गरेका थिए । वुधवारसम्म चल्ने कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको सहभागीता रहेको छ । कार्यक्रम अवधीभर प्रतिष्ठानका कोइराला, प्रमुख प्रशासकीय अधिकृत आचार्य, टापेन्द्र लरिजा, सन्तलाल श्रेष्ठ, बुद्धिप्रसाद घिमिरे लगायतले सहजीकरण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्