
भवन उद्घाटन भएको डेढबर्ष भइसक्दा पनि सञ्चालन भएन त्रिभुवन पुस्तकालय, सञ्चालनको तयारीमा छौँ : सञ्चालक समिति
गोरखाको सबैभन्दा जेठो पुस्तकालय भनेर चिनिने त्रिभुवन पुस्तकालय अझै सञ्चालनमा आएको छैन । भवन पुनर्निर्माण भएको १६ महिना भइसक्दा पनि पुस्तकालय सञ्चालनमा नआएको हो ।
बिगत २० बर्षदेखि निरन्तर बन्द रहेको सो भवनको डेढबर्षअघि पुनर्निर्माण सम्पन्न भइसकेको छ । नयाँ भवन बने पनि पुस्तकालय भने सञ्चालन नभएको भवन पुनर्निर्माण समितिका संयोजक मोहनलाल श्रेष्ठले बताए । ‘पुनर्निर्माण सकेर भवन त २०७९ को असार १४ गते उद्घाटन गरिएको हो’, पुनर्निर्माण समितिका संयोजक श्रेष्ठले भने, ‘पुस्तकालय सञ्चालनका लागिचाहिँ कुशललाल श्रेष्ठको संयोजकत्वमा अर्को समिति छ । उहाँहरुले सञ्चालनको तयारी गरिरहनुभएको होला ।’ नयाँ भवन करिब ४८ लाख लागतमा पुनर्निर्माण भएको हो ।
पुस्तकालय सञ्चालक समितिले पुस्तकालय सञ्चालनको तयारी गरिरहेको जनाएको छ । ‘दशैँ अघिबाट सञ्चालन गर्ने कि भन्ने सल्लाह थियो, पछि फेरि तयारी पुगेन, त्यसैले अब तिहार लगत्तै सञ्चालन गर्ने तयारी भएको छ’, सञ्चालक समितिका संयोजक कुशललाल श्रेष्ठले भने, ‘फर्निसिङको काम भइसकेको छ । पुरानो पुस्तकालयका किताबहरु करिब दुईसयको संख्यामा छन् । करिब तीनसय वटाजति नयाँ पुस्तक खरिद गरेका छौँ । कर्मचारी राख्ने बारे पनि कुरा करिब करिब टुंगिएको छ । अहिले हालका लागि अपरान्ह तीनबजेदेखि साँझ ६ बजेसम्म पुस्तकालय खुल्ला राख्ने निर्णय गरेका छौँ ।’
पुस्तकालय सञ्चालनका लागि आर्थिक अभावको चर्को समस्या रहेको श्रेष्ठको भनाइ छ । ‘पुस्तकालय खोल्न त खोल्ने, तर निरन्तर सञ्चालन गर्ने कसरी ? आफ्नै स्थायी आम्दानीको स्रोत छैन’, उनले भने, ‘कर्मचारीका लागि र मसलन्दका लागि चालु खर्च कसरी जुटाउने भन्ने समस्यामा छौँ । इलाइब्रेरी, सिसि क्यामेरा तथा पुस्तकालय सञ्चालनको मोडालिटी बनाएर गोरखा नगरपालिकामा प्रस्ताव पेश गरेका थियौँ, तर यसपटक बजेट परेन । वडा कार्यालयले पनि चालु बर्ष बजेट बिनियोजन गरेन ।’ दुईहजार रुपैयाँ लिएर आजीवन सदस्यता अभियान सञ्चालन गर्ने उनले बताए ।
‘त्यसबाट प्राप्त रकम अक्षयकोषमा राखेर व्याजबाट आएको रकमले चलाउने एउटा विकल्प छ, त्यो कति सफल हुन्छ’, उनले भने, ‘कार्यक्रम पेश गर्ने ठाउँमा पनि बर्षेनी पेश गरिरहन्छौँ । हेरौँ, सबैको साथ, सहयोग रहला भन्ने आशा छ ।’
पुस्तकालय सञ्चालनका लागि गठित सञ्चालक समितिको उपाध्यक्षमा मञ्जुदेवी अर्याल, सचिवमा किरणबाबु अर्याल, कोषाध्यक्षमा महेश्वर अर्याल, उपसचिवमा नन्दकुमार श्रेष्ठ र सदस्यहरुमा अयोध्या जोशी, गणेश श्रेष्ठ, रामचन्द्र अधिकारी, नविनबाबु श्रेष्ठ, मलिना मास्के र अंगतकुमार श्रेष्ठ रहेका छन् ।
पुस्तकालय यथासीघ्र सञ्चालन आरम्भ गर्ने बिषयमा समिति नैतिक दबाबमा परिरहेको श्रेष्ठको भनाइ छ ।
गोरखा नगरपालिका ६, तीनधारेस्थित सो पुस्तकालय २०६० सालदेखि बन्द अबस्थामा रहेको स्थानीय पुरुषोत्तम अर्यालको भनाइ छ ।
करिब ३० बर्ष बन्द भएपछि सो पुस्तकालय त्रिभुवन युथक्लव फर वेलफेयर नामक संस्थाले २०६० तिर सञ्चालन गर्ने प्रयास गरे पनि सफल नभएको स्थानीय पुरुषोत्तम अर्याल बताउँछन् । ‘ऐतिहासिक पुस्तकालय हो । तर पटक पटक सञ्चालन हुदै बन्द हुदै ग¥यो’, अर्यालले भने, ‘त्रिभुवन युथक्लवबाट युवाहरुले सञ्चालन गर्ने प्रयास त गरे तर एकबर्ष पनि चल्न सकेन । फेरि बन्द भयो ।’ त्यसपछि अहिलेसम्म नखुलेको उनले बताए । २०२५ सालतिर आफूहरुले पनि स्वयंसेवा गरेर केही समय सञ्चालन गरेको उनले स्मरण गरे ।
मनकामना केवलकारका सञ्चालक लक्ष्मणबाबु श्रेष्ठलगायतका टिमले २००८ सालमा पुस्तकालय स्थापना गरेका थिए । सुरुमा त्रिभुवन पुस्तकालय ठूलो आँगनको पाटीमा सञ्चालित थियो । लक्ष्मणबाबु श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, चुडानारायण किशुनबाबु श्रेष्ठ, बाबुराम श्रेष्ठको टिमले पुस्तकालय स्थापना गरेका हुन् । ठूलोआँगनमा पुस्तकालय बनाउँदा आँगन साँगुरो हुने भनेर स्थानीयबासीले विरोध गरेपछि त्यतिबेलाका बडाहाकिम उत्तम केशरीले अहिले पुस्तकालय भएको ठाउँमा पाटी बनाउन लगाएर पुस्तकालय पनि सारेका हुन् ।
त्यतिबेला पञ्चायती शासन थियो । लाइब्रेरीमा विद्यार्थीहरु भेला भएर राजनीतिक गतिबिधि गर्छन् भनेर सरकारले बन्द गरिदिएको थियो । बन्द रहेको पुस्तकालय फेरि २०२५ सालमा मोहननारायण श्रेष्ठ अध्यक्ष रहेको समूहले सञ्चालन गरेको थियो । २०२५ सालमा मोहननारायण श्रेष्ठ अध्यक्ष, म भरतबाबु श्रेष्ठ सचिव रहेको समितिले फेरि पुस्तकालय सञ्चालन गरेको थियो ।
त्यतिबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापा, राष्ट्रिय पञ्चायतका अध्यक्ष राजेश्वर देवकोटा, सहायक मन्त्री वेदबहादुर पन्त, तत्कालीन भारतका लागि नेपाली राजदूत राजबहादुर सिँहले पनि त्रिभुवन पुस्तकालय भ्रमण गरेका थिए । उनीहरुले पुस्तकालय सञ्चालक समितिलाई काठमाडौं बोलाएर अमेरिकी, ब्रिटिश, भारतीय, रस्सियन, पुस्तकालयबाट पुस्तक उपलब्ध गराउन मद्दत गरेका थिएए ।
पुरानो भवन भूकम्पले क्षतिग्रस्त भएपछि अहिले नयाँ भवन निर्माण भएको हो । पुस्तकालय सञ्चालन गर्न स्थानीय तहले अग्रसरता लिनुपर्ने पुराना पुस्ताको सुझाव छ । ‘इतिहास बोकेको त्रिभुवन पुस्तकालय चलाउन अब स्थानीय तहले चासो देखाउनु पर्छ’, स्थानीय शिक्षासेवी पुरुषोत्तम अर्याल भन्छन्, ‘युवा विद्यार्थीहरुको अग्रसरताको खाँचो छ ।’




