
महँगो भाडा लिएको भन्दै गोरखामा स्थानीय युवाले लगाए टिकट काउण्टरमा ताला
गोरखा दरौदी यातायात कम्पनी प्रालिको भच्चेकस्थित टिकट काउण्टरमा स्थानीय युवाहरुले ताला लगाइदिएका छन् । तोकिएको भन्दा बढी भाडा लिएको भन्दै उनीहरुले बिहीवार बिहान काउण्टरमा ताला लगाइदिएका हुन् ।
तोकिएको भन्दा बढी भाडादर नलिन आग्रह गर्दा काउण्टरमा रहेका प्रालिमा सम्वद्ध यातायात व्यवसायीहरुले अभद्र व्यवहार गरेपछि ताला लगाइएको स्थानीय ठाकुर अम्गाइले बताए । ‘भच्चेकदेखि काठमाण्डौसम्म आठ सय ७० रुपैया भाडा तिर्दै आएका थियौ, अस्ति एक हजारका दरले भाडा लिएछन्, फेरी टिकट काट्ने तर टिकटमा पैसा नलेख्ने गरेका थिए,’ उनले भने, ‘किन यस्तो गरेको ? नियम अनुसार भाडा लिनुस् भन्दा हामीसँगै अभद्र व्यवहार गरेपछि हामीले काउण्टर बन्द गरिदिएका हौ ।’
प्रशासनले निर्धारण गरेको भाडादर कायम गर्न पटक पटक आग्रह गर्दा समेत यातायात व्यवसायीले अटेर गर्दै आएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए । ‘चाडवाडमा जे जसो भएपनि अव प्रशासनले तोकेको भाडा लिनुपर्छ भनेर पटक पटक भन्यौ, तर उल्टो हामीसँग आक्रामक हुनुभयो, बिहान स्थानीय युवाहरु मिलेर ताला लगाइदिनुभयो,’ उनले भने । यस बिषयमा प्रहरी प्रशासनसँग आवश्यक छलफल भइरहेको उनले जानकारी दिए ।
प्रालिका अध्यक्ष नारायण खत्रीले क्यू मा रहेको गाडीले बढी भाडा नलिएको बताए । ‘अस्ती क्यू को गाडी सकिएर एउटा एक्ट्रा गाडी पठाएका थियौ, त्यसले एक हजारका दरले भाडा लिएछ त्यही बिषयलाई लिएर सामान्य विवाद पनि भएको रहेछ, त्यही बिषयलाई लिएर आज ताला लगाउनुभएछ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले उक्त बिषयमा थप बुझ्नका लागी प्रहरी पठाइएको बताए ।




