| बुधबार, कार्तिक २५, २०८३

गोरखामा सुपथ मूल्यको पसलबाट १७६ क्वीन्टल चामल बिक्री

दशै, तिहार र छठ पर्वलाई लक्षित गरी जिल्लामा संचालन भएको सुपथ छुट मूल्य पसलबाट हालसम्म एक सय ७६ क्वीन्टल चामल बिक्री भएको छ । असोज २८ गतेबाट हालसम्म उक्त परिणाममा चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले जनाएको छ । दैनिक ५० देखि एकसय बोरासम्म चामल विक्री हुने गरेको कार्यालय सूचना अधिकारी शिव सुनारले बताए ।

उनका अनुसार सुपथ छुट मूल्य पसलबाट प्रतिकिलो ७ रुपैया छुटमा चामल बिक्री वितरण हुदँै आएको छ । ‘अहिले स्टिम जिरा मसिनो चामलको बजार मूल्य प्रतिकेजी ८६ रुपैया छ,’ उनले भने, ‘हामीले ७९ रुपैयमा दिएका छौ ।’ छुट सहित २५ किलो बोराको एकहजार ९७५ रुपैया पर्ने उनले जानकारी दिए । सातसय पाँच बोरा जिरा मसिनो चामल विक्री भइसकेको र २३ क्वीन्टल मात्र बाँकी रहेको बताइएको छ ।

कार्यालयले यो वर्ष दुई सय क्वीन्टल चामल विक्री वितरण गर्ने अनुमति पाएको थियो । चालम लिन आउनेमा सबैभन्दा धेरै गोरखा नगरवासी रहेको कार्यालयले जनाएको छ । शहिदलखन, भीमसेन र आरुघाट गाउँपालिकाका स्थानीयहरु पनि आउने गरेको बताइएको छ । सोना मन्सुली चामल पनि ल्याउने प्रक्रिया सुरु भएको कार्यालयले जनाएको छ । अव केहि दिन भित्रमा दुई सय १० क्वीन्टल सोना मन्सुली चामल आउने सुनारले बताए । उनका अनुसार सुपथ पसल मंसीर ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्