
भच्चेकमा सिस्नुपाउडर उत्पादन
गोरखाको व्यापारिक केन्द्र भच्चेकमा सिस्नु पाउडर उत्पादन हुन सुरु भएको छ । हरियाली बहुउद्देश्यीय सहकारी संस्थाले अजीरकोट ३ भच्चेकबजारमा अजिरकोट सिस्नुपाउडर उद्योग सञ्चालन गरेको हो ।
उद्योगको गत असोज २९ गते उद्घाटन गरिएको सहकारी संस्थाका अध्यक्ष तयराज गुरुङले जानकारी दिए । तीनदिनको अवधिमा २५० पाकेट सिस्नुपाउडर उत्पादन गरिएको उनले बताए ।
पाँचतारे होटलहरुमा पनि सिस्नु पाउडरको प्रयोग गरिने र विदेशसमेत निर्यात हुने गरेकाले आफूहरुले सिस्नुपाउडर उत्पादन गर्न सुरु गरेको गुरुङले बताए । ‘पाँचतारे होटलहरुमा पनि दालका रुपमा सिस्नु पाउडरका रुपमा प्रयोग हुने गरेको छ । विदेश पनि निर्यात हुने गरेको छ, त्यसैले यसलाई व्यवसायिक रुपमा उत्पादन गर्ने उद्देश्यले हामीले सिस्नुपाउडर उद्योग सञ्चालन गरेका हौँ’, सहकारीका अध्यक्ष गुरुङले भने, ‘अहिले चितवन, कावासोतीमा बिक्री गरेका छौँ । अब काठमाडौँ, पोखरासम्म पनि पु¥याउने लक्ष्य छ । बजारको कुनै समस्या छैन, तर माग बमोजिम उत्पादन गर्न सकिन्छ कि सकिदैन भन्ने मात्र प्रश्न छ ।’
ठूलो परिमाणमा उत्पादन गर्न स्थानीय किसानहरुलाई बारीमा सिस्नु रोप्न आग्रह गरिएको उनले बताए ।

‘अहिलेसम्म हामीले खोला, खोल्सा र जंगलबाट सिस्नुको मुण्टा र फूल ल्याएर कच्चा पदार्थका रुपमा प्रयोग गरेका छौँ, अब व्यवसायिक रुपमा उत्पादन गर्न सिस्नुको फूल आफ्ना बारीमा रोप्न किसानहरुलाई भनेका छौँ’, गुरुङले भने । अत्याधिक जाडो हुने पुस, माघ महिनाबाहेक अरु सबै महिना सिस्नु फस्टाउने सिजन हो । त्यसैले बर्षभरि सिस्नुपाउडर उत्पादन गरी व्यपार गर्न सकिने सहकारीले लक्ष्य लिएको छ ।
सिस्नुले विभिन्न रोगको निवारण गर्ने उनको भनाइ छ । उनका अनुसार पेटको रोग, सुगर, प्रेसरको समस्या समाधान गर्न सिस्नुपाउडर लाभदायी हुनेछ । त्यस्तै भिटामिन ए, क्याल्सियम पनि यसबाट प्रसस्त पाइने हुँदा सिस्नुपाउडर बहुउपयोगी हुने उनको भनाइ छ ।




