| बुधबार, कार्तिक २५, २०८३

दशैको अवधिमा दुई सवारी दुर्घटनामा ६ जना घाइते

दशैको घटस्थापनादेखि पुर्णिमासम्म जिल्लामा दुई वटा सवारी दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पालुङटार नगरपालिकामा बसबाट लडेर सहचालक घाइते भएका हुन् भने गोरखा नगरपालिकामा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

कात्तिक ४ गते ना ५ ख ८३४ नम्वरको यात्रुवाहक बसका सहचालक सोही बसबाट लडेर घाइते भएको जिल्ला ट्राफिक इन्चार्ज बेदनाथ भण्डारीले बताए । घाइते हुनेमा सिरानचोक गाउँपालिका–३ हर्मी बस्ने २६ बर्षीय राकेश गुरुङ रहेको उनले जानकारी दिए । हर्मीबाट नारायणगढ जादै गर्दा पानपा–२ भण्डारीचौतारामा बस रोक्ने क्रममा गुरुङ लडेर घाइते भएका हुन् । टाउकोमा चोट लागेका उनलाई आपपिपल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनको मेडिकल कलेज पठाइएको थियो ।

त्यस्तै कात्तिक ७ गते गोनपा–४ धनुवासेमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा पाँच जना घाइते भएका थिए । बाग्मती प्रदेश ०२ ०१५ प ८४७६ र बा ५२ प ७५३३ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा ११ बर्षिया बालिका सहित पाँच जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरुमध्ये एक जनाको अवस्था गम्भिर रहेपनि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उक्त दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्