| बुधबार, कार्तिक २५, २०८३

गोरखा दरवारको फुलपाती काठमाण्डौ हनुमानढोका पठाइयो

गोरखा दरवारको फुलपाती शनिवार काठमाण्डौको हनुमान ढोका पठाइएको छ । बिहान आठ बजे दशैघरबाट निकालिएको फुलपाती बा २ झ २१२८ नम्वरको गाडीमा राखेर काठमाण्डौ पठाइएको हो ।

गोरखा दरवारका चण्डी पुजारी कुलबहादुर थापा फुलपाती लिएर काठमाण्डौ गएका हुन् । शुक्रवार साँझ सुसारेहरुले गोरखा नगरपालिका आसपासको जंगलबाट संकलन गरेको फुलपाती शनिवार बाजागाजा सहित हनुमानढोका पठाइएको गोरखा दरवार हेरचाह अड्डा प्रमुख हरि भुसालले बताए ।

‘नगरपालिकाको छिपछिपे फाँटमा बारबेर गरेर राखेको जग्गामा हिजो साँझ सुसारेहरुले क्षमा पुजा गरेर आसपासको जंगलबाट फुलपाती संकलन गर्नुभयो,’ उनले भने, ‘त्यही फुलपाती आज बिहान ल्याएर काठमाण्डौ पठाएका हौ ।’ फुलपातीमा वेल, दारिम, अशोका, धान, सामा, केरा, हलेदो, उखु र जयन्ती समावेश भएको उनले जानकारी दिए ।

गोरखाबाट पठाइएको फुलपाती हनुमानढोकाबाट फुलपाती संकलनका लागी जिवनपुर आएका टोलीलाई हस्तान्तरण गरिने र सोही टोलीले जमल हुदै साँझ हनुमानढोका लैजाने प्रचलन रहेको बताइएको छ । यस बर्षबाट लिगलिगकोटबाट ल्याइएको फुलपाती पनि काठमाण्डौ पठाइएको छ ।

पहिले धादिङको जिवनपुर, नुवाकोट हुदै हिडेर फुलपाती हनुमानढोका पु¥याउने प्रचलन थियो । २०६६ सालदेखि यो क्रमलाइ तोडेर मोटरवाटोको प्रयोग गर्न थालिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ ।

राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले काठमाडौ माथि बिजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फुलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ । आजै (शनिवार) साँझ बाजागाज सहित हर्ष बडाइका साथ गोरखा दरवारमा पनि फुलपाती भित्र्याउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्