
भीमसेन थापाको बार्षिक प्रगति : जेष्ठ नागरिक घरदैलो कार्यक्रमदेखि आधारभूत अस्पतालसम्म
भीमसेन थापा गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ७४.२८ प्रतिशत रहेको छ । चालु तर्फको ७९.९४ र पुँजीगत तर्फको ६०.६६ प्रतिशत खर्च प्रगति रहेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार गत आव चालु तर्फ ४६ करोड ८२ लाख रकम विनियोजन भएको थियो । जसमध्ये ३७ करोड ४२ लाख खर्च भएको छ । पुँजीगत तर्फ विनियोजित १९ करोड ४१ लाख रकममध्ये ११ करोड ७७ लाख खर्च भएको इन्जिनियर कपिल पनेरुले बताए ।
उनका अनुसार आर्थिक बिकास तर्फ ५ करोड ५६ लाख विनियोजन भएकोमा २ करोड ८० लाख मात्र खर्च भएको छ । त्यस्तै ३१ करोड १२ लाख रकम विनियोजन भएको सामाजिक बिकास तर्फ २८ करोड १ लाख खर्च भएको छ । पूर्वाधार बिकास तर्फ १२ करोड ५७ लाख विनियोजन भएको थियो । जसमध्ये ७ करोड १० लाख खर्च भएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २ करोड ५८ लाख विनियोजन भएकोमा १ करोड ३७ लाख मात्र खर्च भएको छ । त्यस्तै कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा गत आव १४ करोड ३८ लाख विनियोजन भएको थियो । जसमध्ये ९ करोड ९१ लाख खर्च भएको पालिकाले जनाएको छ ।
पालिकाले गत आव बिभिन्न वडामा योजना अनुसारको रकम विनियोजन गरेको थियो । वडा नम्वर १ मा ४३ योजनाका लागी ६५ लाख, वडा नम्वर २ मा ४५ योजनाका लागी ५५ लाख, वडा नम्वर ३ मा ४२ योजनाका लागी ५९ लाख र वडा नम्वर ४ मा ६१ योजनाका लागी ६५ लाख रकम विनियोजन गरिएको पालिकाले जनाएको छ । त्यस्तै वडा नम्वर ५ मा ५० योजनाका लागी ५३ लाख, वडा नम्वर ६ मा ४३ योजनाका लागी ६७ लाख, वडा नम्वर ७ मा ३८ योजनाका लागी ५५ लाख र वडा नम्वर ८ मा ३७ योजनाका लागी ५५ लाख रकम विनियोजन भएको बताइएको छ ।
पालिकाले गत आव चार वटा ऐन, एउटा मापदण्ड र ४३ वटा कार्यविधि निर्माण गरेको छ । आर्थिक बर्ष २०७४÷७५ देखि हालसम्म २६ वटा ऐन, ४ वटा नियम÷नियमावली, १ निर्देशिका, १ मापदण्ड र ९९ कार्यविधि निर्माण भइसकेको पालिकाले जनाएको छ ।
लाइफ लाइन केन्द्रित बजेट, शहिद स्मृती आधारभूत अस्पतालबाट २४ घण्टे सेवा प्रवाह, गाउँपालिका अध्यक्ष जेष्ठ नागरिक घरदैलो कार्यक्रमलाई पालिकाले गत आवको प्रमुख उपलब्धीको रुपमा लिएको छ । बसाइसराई, जग्गा तथा वन सम्बन्धी समस्या, प्रशासनिक कर्मचारी अभाव प्रमुख समस्या र चुनौतीको बिषय रहेको पालिकाले जनाएको छ ।




