
भारतीय प्रधानमन्त्री बिनासूचना आउनु नेपालमाथि नाङ्गो हस्ताक्षेप : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय प्रधानमन्त्री जानकारी नै नदिई नेपालको भूभागभित्र प्रवेश गर्नु नेपालमाथिको नाङ्गो हस्तक्षेप भएको तर्क गरेका छन् । शुक्रवार जिल्ला सदरमुकाम गोरखामा आयोजित कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै उनले भारतीय प्रधानमन्त्रीको यो अतिक्रमणको सशक्त प्रतिरोध गर्ने बताए ।
‘तीनदिन अगाडि मात्र हामीले समाचार पढ्यौँ, भारतका प्रधानमन्त्री नेपालको भूभागमा नेपाललाई सूचना नदिईकन आउनु नेपालमाथि नाङ्गो, ठाडो हस्ताक्षेप हो’, उनले भने, ‘नेपालले यसको सशक्त प्रतिरोध गर्छ, प्रतिवाद गर्छ । हामी के भन्छौँ भने भारतले मात्र होइन, चीनले पनि यस्तो खालको गतिविधि गर्छ भने राष्ट्रियताका बिषयमा कांग्रेस, एमाले, माओवादी, राप्रापा, नयाँ पार्टी, पुरानो पार्टी, हामी सबैको साझा दृष्टिकोण हुनुपर्छ ।’ घरभित्रको विषयमा जे जस्ता प्रतिस्पर्धा भएपनि अन्तर्राष्ट्रिय सन्दर्भमा सबैको साझा धारणा हुनुपर्ने उनले बताए ।
भारतले मात्र होइन चीनले गर्ने यस्ता अतिक्रमणको सन्दर्भमा सबै पार्टीको साझा धारणा हुनुपर्नेमा उनले जोड दिए । ‘यहाँ राजनीतिक दलहरुले त भन्दा म ठुलो, त भन्दा म धेरै भनिराख्नु पर्दैन,’ उनले भने, ‘हामी एक शक्ति नभई यो खालको अतिक्रमणलाई परास्त गर्न सकिदैन ।’ नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर कांग्रेसले घरभित्र कहिलै राजनीति नगर्ने बताउँदै उनले थपे, ‘नेपालमा एउटा यस्तो अवस्था बनाउनु छ, जहाँ राजनीतिक दलहरुबीच आन्तरिक प्रतिस्पर्धा भएपनि वा नेपालको प्रधानमन्त्री जुनसुकै पार्टीको भएपनि नेपालले भारत वा चीनलाई हेर्ने दृष्टिकोण पार्टी वा प्रधानमन्त्री बदलिदै गर्दा परिवर्तन हुदैन अर्थात नेपालको त्यो देशसँगको सम्बन्ध तलमाथि हुदैन भन्ने सोच जवसम्म बदलिदैन तवसम्म बिदेशी चलखेल रोकिदैन ।’ यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाइ छ ।
पार्टीको आन्तरिक कुरा गर्दै उनले नेपाली कांग्रेसको ४० प्रतिशतभन्दा बढी धेरै जिल्लामा ठूलो घर झगडा रहेको बताए । तलदेखि माथिसम्म गुटको कब्जामा पार्टी गएको उनको भनाइ छ । ‘हाम्रो ताकत के मा खेर गइरहेको छ भने पार्टीभित्र निर्वाचन लड्न एक अर्कालाई सिध्याउन । हामी एक अर्कासँग लड्दा–लड्दा तलदेखि माथिसम्म गुटको कब्जामा पार्टी गएको छ,’ उनले भने ।
विगतदेखि नै पार्टीभित्र गुटको राजनीति रहेको बताउँदै उनले भने, ‘विपि कोइरालाको पालामा पनि गुट थियो, विपी कोइराला र मातृक गुट, विपी र सुर्वण गुट पनि बन्यो, विपी र गणेशमान गुट, गणेशमान र गिरिजाको गुट हामीले देखेरै आयौँ, त्यसैले पार्टीभित्र गुटहरु बन्छन् तर ती गुटहरु अहिले संस्थागत भएर गिरोह बन्न लाग्यो ।
त्यसैले यसमा सुधार गर्न सदस्यता वितरणबाटै सुरुवात गर्नुपर्छ ।’ महिनामा कम्तिमा एकपटक स्थानीय तहसँगको सम्वाद राख्न उनले जिल्लाका सभापतिलाई आग्रह समेत गरेका छन् । अवका चुनावमा कांग्रेसले फरक बिचार भएको दलसँग गठवन्धन नगर्ने अठोट लिनुपर्ने उनको धारणा छ ।




