
मरहट्टाको अध्यक्षतामा गोरखा चितवन पत्रकार समाज गठन
पुख्र्यौली घर गोरखा भई हाल चितवनलाई कार्यक्षेत्र बनाएका पत्रकारहरूले गोरखा चितवन पत्रकार समाज गठन गरेका छन् । शुक्रबार सम्पन्न चितवनका पत्रकारहरुको भेलाले नवीनबाबु मरहट्टाको अध्यक्षतामा समाज गठन गरेका हुन् ।
भरतपुरमा सम्पन्न भएको समाजको प्रथम अधिवेशनले मरहट्टाको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरेको छ । समाजको उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा सनद अधिकारी, कोषाध्यक्षमा लक्ष्मी ढकाल र सहसचिवमा रविलाल भट्टलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा सुनील पराजुली, सरोज उपरकोटी, रविकिरण रेग्मी, विशाल अम्गाई र निरुता बि.क रहेका छन । अग्रज पत्रकार कृष्णप्रसाद खनालको संयोजकत्व बनेको ३ सदस्यीय निर्वाचन मण्डलले सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
अधिवेशन नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नवनिर्वाचित कार्यसमितिलाई पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारी र अग्रज पत्रकार तथा गोरखा चितवन समाजका उपाध्यक्ष शान्ता अधिकारीले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेकी थिए ।




